• १५ असार २०८१, शनिबार

शाहसहित छ जना थुनामा

blog

काठमाडौँ, चैत १ गते । विदेशी नागरिकलाई समेत ठगी गरेर नेपालमा रकम ल्याएको अभियोग लागेका पृथ्वीबहादुर शाहसहित छ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सोमबार थुनछेक आदेश भएको हो। शाहसहितका अभियुक्तलाई कारागार कार्यालय जगन्नाथदेवल चलान गरिएको दाहालले बताउनुभयो। 

न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको इजलासले मुद्दासाथ उपस्थित गराइएकामध्ये छ जनालाई थुनामा पठाएको हो। अदालतले एक जनालाई धरौटीमा रिहाको आदेश गरेको छ। प्रतिवादी बनाइएका २० मध्ये प्रहरीले सात जनालाई मुद्दासाथ पेस गरेको थियो। १३ जना प्रतिवादी अझै फरार छन्।  अदालतले मुख्य अभियुक्त शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले, रङ्गबहादुर साउदलाई अदालतले थुनामा पठाएको हो। प्रतिवादीमध्ये विनिता तामाङलाई अदालतले ५० हजार रुपियाँ धरौटीमा रिहाको आदेश गरेको हो। 

शाहमाथि विभिन्न देशमा ठगी गरेर रकम नेपाल ल्याएको आरोप लगाइएको छ। ठगीको रकमलाई स्विफ्टमार्फत नेपाल ल्याएको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानपछि प्रहरीले गत मङ्गलबार सरकारी वकिलले सहकारी ठगी, लिखित कसुर तथा सङ्गठित अपराधमा मुद्दा चलाउन प्रतिवेदन बुझाएको थियो। सोहीअनुसार मुद्दा दायर भएको थियो। 

प्रहरी अनुसन्धानले शाहसहितले ठगीको रकमबाट घरजग्गा, सेयर तथा विभिन्न कम्पनीमा समेत लगानी गरेको खुलेको थियो। ३८ करोड रुपियाँभन्दा बढी ठगी गरेको आरोप शाहमाथि लागेको छ।