• १३ साउन २०८१, आइतबार

व्यापार तथा लगानी वृद्धि गर्न आग्रह

blog

काठमाडौँ, फागुन ३० गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग वैदेशिक लगानीका लागि चीन सरकारको छाता संस्था ‘काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सीसीपीआईटी)का उपाध्यक्ष झाङ साओगाङले भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको भेटमा दुई मुलुकबीच व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । 

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिप्रतिको नेपालको दृढता दोहो-याउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीनसँग नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदारी रहेको चर्चा गर्दै र नेपालमा लगानीमैत्री वातावरण भएकाले चिनियाँ लगानीको सधैँ स्वागत गरिने बताउनुभयो ।

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर दुई मुलुकबीचको आयात–निर्यातलाई सहज बनाउनुपर्ने  आवश्यकता औँल्याउँदै  उपप्रधानमन्त्री श्रेष्ठले आपसी समझदारीका आधारमा नेपाल र चीनबीचको व्यापार घाटा कम गर्नुपर्ने बताउनुभयो । 

भेटवार्तामा नेपालका लागि चीनका राजदूत छन् सोङसहितका अधिकारीहरूको सहभागिता थियो । उपाध्यक्ष झाङले नेपाल पुरानो र नजिकको मित्र भएको चर्चा गर्दै नेपालमा थप लगानीको सुनिश्चितता गर्नु नै आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो । नेपालले ठूलो प्रविधियुक्त उद्योग निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने उहाँको भनाइ थियो ।

झन्डै चार वर्ष लामो कोभिड–१९ सङ्क्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुला भएकाले सहजता भएको बताउनुभयो । कोभिड–१९ का कारण चीन र नेपालबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानमा कमी आएको र त्यसबाट दुई मुलुकबीचको व्यापारमा समेत असर परेको उपाध्यक्ष झाङको भनाइ थियो ।