• १ जेठ २०८२, बिहिबार

पर्यटनमन्त्री किरातीद्वारा ताल अवलोकन

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले डुङ्गा (बोट)मा सयर गर्दै सर्लाहीको बागमतीस्थित निर्माणाधीन माछा पोखरीको अवलोकन गर्नुभएको छ। पछिल्लो समय नेपाली र भारतीय पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको निर्माणाधीन माछा पोखरीमा मन्त्री किरातीले डुङ्गामा सयर गर्दै अवलोकन गर्नुभएको हो। बागमती नगरपालिका–१२ मा निर्माणाधीन यो माछा पोखरी ‘भरत ताल’को नामबाट प्रख्यात छ। 

बागमतीका नगरप्रमुख भरतकुमार थापाको नामबाटै यहाँका स्थानीयले यो तालको नाम भरत ताल राखिदिएका हुन्। पर्यटनमन्त्री किरातीले सर्वसाधारणसँगै डुङ्गामा सयर गर्दै अवलोकन गर्नुभएको हो। मन्त्री किरातीले पछिल्लो समय यो ताल प्रमुख गन्तव्य बन्दै गइरहेकोबारे आफूलाई पनि अवगत रहेको भन्दै तालको वस्तुस्थितिबारे चाख लिँदै विस्तृत जानकारी लिनुभयो। उहाँलाई बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, बागमती–१२ का वडाध्यक्ष ओम श्रेष्ठलगायत भएर निर्माणाधीन तालको अवस्थाबारे अवगत गराउनुभयो। 

डुङ्गामा सयर गरेपछि अटो रिक्सामा चढेर तालको वरिपरिको दृश्य अवलोकन गर्नुभएका मन्त्री किरातीले आफू चढेकै डुङ्गामा जन्मदिन बनाउँदै गर्नुभएका भारतीय बालक निमवान अग्रवालको हातबाट केकसमेत खान भ्याउनुभयो। उहाँले भारतीय पर्यटकलाई तालमा आउँदा कस्तो अनुभव गर्नुभयो ? भन्दै प्रतिक्रिया समेत लिनुभयो। 

पर्यटनमन्त्री किरातीले बागमती नगरपालिकाले ताल निर्माण गरेर स्थानीयस्तरमा पर्यटनको विकास तथा प्रवद्र्धन गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले यही तालको अवलोकनका लागि भारतीय पर्यटकसमेत प्रशस्त भित्रिरहेको प्रति खुसी व्यक्त गर्दै तालको विकासका लागि आफ्नो साथ, सहयोग रहने बताउनुभयो। 

बागमती नगरपालिकाले १२१ बिघा सरकारी जग्गामा माछा पोखरी निर्माण गरी त्यहाँ माछा पालन गर्ने र सो पोखरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित संरचना निर्माण गरिरहेको छ। १२१ बिघामध्ये अहिले ६० बिघाको एउटा पोखरीमा पानी भरेर बोट सञ्चालन गरिएको छ भने बाँकी ६१ बिघाको अर्को पोखरीमा आगामी वैशाखदेखि पानी भर्न सुरु गरिने बागमती नगरपालिकाले जनाएको छ।