• १३ असोज २०८१, आइतबार

निर्माणाधीन पुल अलपत्र

blog

भक्तिविलास पोखरेल 

गाईघाट, फागुन ३० गते । दूधकोशी नदीमा निर्माणाधीन पक्की पुल निर्माणमा चरम ढिलासुस्ती हुँदा उदयपुरको मैनामैनी र भोजपुरको हतुवागढी क्षेत्रका बासिन्दालाई सास्ती हुने गरेको छ। उदयपुरको मैनामैनी र भोजपुरको हतुवागढी जोड्ने पुल नबन्दा नागरिकलाई दैनिक रूपमा कोशी वारिपारि गर्न सास्ती हुने गरेको छ। निर्माण कम्पनीको लापरबाहीले यति ठूलो सरकारी योजना अलपत्र परेको हो। 

 ठेकेदारको लापरबाही तथा सरकारी तालुकदार निकायको कमजोर निगरानीका कारण पहाडी जिल्लाको अतिविकट स्थानमा हुने विकासे पूर्वाधारका योजना सधैँ ओझेलमा पर्ने गरेको तथ्यलाई यो योजनाले उजागर गरेको छ।

उदयपुर र भोजपुर दुई जिल्ला जोड्ने यो पुल २०७७ साल असोज महिनामा निर्माण थालिएको हो। छ महिना पहिले नै निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि अहिलेसम्म नभएर अलपत्र अवस्थामा छ। 

कोशीको वारि र पारि दुईवटा पिल्लरको जग लगाउनेबाहेक हालसम्म अरू कुनै काम भएको छैन। यसअघि बनाइएको पिल्लरको जग पनि कमजोर र लथालिङ्ग अवस्थामा छ।

उदयपुरको मैनामैनी–चुहार हुँदै भोजपुर जोडिने सडकअन्तर्गतको यो पुल कोशी प्रदेश सरकारको २१ करोड २३ लाख रुपियाँको लागतमा निर्माण थालिएको थियो। उक्त पुल निर्माणको ठेक्का पूर्वमन्त्री विक्रम पाण्डेको कालिका जेभी निर्माण कम्पनीले लिएको हो। 

हतुवागढी–७ का स्थानीय सुसन बान्तवा राईले भन्नुभयो, “पुल नहुँदा सवारीसाधन वारिको वारि र पारिको पारि रहन्छन्। झोलुङ्गे पुलबाट मानिस आवत–जावत गर्न र सामान बोकेर ढुवानी गर्न बाध्य छन्। यसले एकातिर उपभोक्ताहरू महँगीको मारमा परेका छन्। स्थानीय उत्पादनले सहज रूपमा बजार पाउन सकेको छैन।” 

यही सडकमार्फत भारतको जोगबनीबाट मोरङ, सुनसरी, उदयपुर, भोजपुर हुँदै सङ्खुवासभासम्म जान र उत्तरतर्फ चीनको नाकासम्म पुग्न यो सडक अत्यन्तै महत्वपूर्ण छ। यही सडकअन्तर्गत उक्त पुल पनि निर्माण हुन लागेको हो। पुल निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणमा वितृष्णा बढाएको छ। 

अहिलेसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त निर्देशक जितेन्द्रकुमार यादवले बताउनुभयो। कोशी लोकमार्गअन्तर्गत भारतको जोगबनीदेखि विराटनगर, इटहरी भएर चतरा सोमबारे, मैनामैनी चुहाड हुँदै भोजपुर, सङ्खुवासभाको किमाथाङ्कासम्म जोड्ने सडकमा पर्ने यो मोटरेबल पक्की पुल हो।