• ६ पुस २०८२, आइतबार

गोरखामा ट्रक दुर्घटनामा दुईको मृत्यु, छ घाइते

blog

प्रतिकात्मक तस्बिर

गोरखा, फागुन २९ गते। गोरखामा ट्रक दुर्घटना हुँदा सोमबार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। 

गोरखा नगरपालिका-६ स्थित बिसौनीमोडमा प्र-३-०१-००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो।

दुर्घटनामा परी गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका-७ घर भई राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत वर्ष ३२ का विष्णु खड्काको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उपरीक्षक लामिछानेले बताउनुभयो।

दिउँसो गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ आउँदै गरेका ट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल र बाटोमा रहेको पैदलयात्री लछारेर सडकदेखि झण्डै २० मिटर तल खसेको थियो। 

दुर्घटनामा परेर घाइते हुनेमा सहिद गाउँपालिका-७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र  ६८ वर्षका नारायण भुजेल रहेका छन्।

अन्य घाइतेमा गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना र उमेर खुल्न बाँकी रहेका बुद्धीबहादुर नेपाली रहेका छन्। गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस