• ८ मंसिर २०८१, शनिबार

सडक सुरक्षा र सवारी सम्बन्धी पुस्तक सार्वजनिक

ललितपुर महानगरका विद्यालयमा सडक सुरक्षा र सवारीबारेमा पढाइ हुने

blog

सडक सुरक्षा र सवारी सम्बन्धी पुस्तक सार्वजनिक गर्नुहुँदै कलाकार मदनकृष्ण श्रेष्ठ र ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनसहित विभिन्न विद्यालयका २० जना विद्यार्थी । तस्बिर : ललितपुर महानगर

ललितपुर, फागुन २९ गते । ललितपुर महानगर भित्रका विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ । पुस्तक विद्यालयको आधारभूत तहसम्म लागू गर्ने गरी स्थानीय पाठ्यक्रमका रूपमा महानगरले उक्त पुस्तक तयार पारेको हो ।

ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रूपमा कक्षाकोठाबाट नै प्राप्त गर्ने भएका हुन् ।

उक्त पुस्तकको सोमबार कलाकार मदनकृष्ण श्रेष्ठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले उक्त पुस्तक विमोचन गर्नुभएको हो । पुस्तक आधारभूत तहसम्म लागू गर्ने गरी तयार पारिएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बालबालिकालाई विद्यालय तहबाट नै सडक सुरक्षासम्बन्धी ज्ञान दिनु आवश्यक भएकाले यो विषयलाई पाठ्यक्रममा नै राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘माध्यमिक तहका लागि पनि पाठ्यक्रम तयार पार्दैछौ, त्यो पुस्तकमा लेफ्ट साइट ड्राइभिङ, राइट साइट ड्राइभिङको बारेमा पनि जानकारी दिने गरी विषयवस्तु समेट्छौँ ।’’

उपप्रमुख मञ्जली शाक्यले ललितपुर महानगरले व्यवहारिक ज्ञानलाई प्राथमिकता दिएको बताउनुहुँदै सडक सुरक्षा शिक्षालाई पाठ्यक्रममा नै राखेको बताउनुभयो । उहाँले यो पुस्तकले बालबालिकालाई सडक सुरक्षाको बारेमा ज्ञान दिने प्रष्ट पार्नुभयो ।

कलाकार मदनकृष्ण श्रेष्ठले सडकमा ट्राफिक नियम पालना गर्नु सभ्य नागरिकको परिचय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जसले कानुन मान्छ त्यो स्मार्ट हो, कानुन उल्लङ्घन गर्ने असम्य हुन् ।’’ उहाँले यो पुस्तक दक्षिण एसियामा पहिलो भएको दाबी गर्नुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले चेतना, सतर्कता र सुरक्षाको दृष्टि पुस्तक राम्रो भएको टिप्पणी गर्नुहुँदै सडक सुरक्षाबारे विद्यार्थीलाई ज्ञान दिनु अत्यावश्यक भएको बताउनुभयो । पाठ्यक्रममा राखिएको यो पुस्तकको अध्यापनले विद्यार्थी सडक सुरक्षाका बारेमा जानकार हुने प्रष्ट पार्नुभयो ।

पुस्तकमा सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक सङ्केतहरू, हेल्मेट र सिटबेल्ट , सबैका लागि सडक, खेलकुद र सडक, आकाशे पुल, सब वे, बसमा सुरक्षा, ताँती पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अङ्कल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिकता उपचार, म त ज्ञानी विद्यार्थी, सही—गलत, ट्राफिक चिन्हहरूका बारेमा चित्र र अक्षरसहित व्याख्या गरिएको छ ।  उक्त पुस्तक महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले सम्पादन गर्नुभएको हो ।