• १३ असोज २०८१, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, फागुन २९ गते । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै छ । निर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरिएको छ ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचित पौडेलले आज (सोमबार) राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै छ ।

संवैधानिक व्यवस्था अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।

शपथ ग्रहण लगत्तै नवनिर्वाचित राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहणपछि निवर्तमान हुनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीले करिब साढे एक बजे राष्ट्रपति भवन छोड्नुहुनेछ । राष्ट्रपति भण्डारी शीतल निवासबाट बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित निजी निवासमा सर्नुहुनेछ ।

उहाँ दुई कार्यकाल गरी करिब साढे सात वर्ष राष्ट्रपति रहनुभएको छ । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।