• १७ असार २०८१, सोमबार

राष्ट्रपतिको शपथ ग्रहणमा ‘दुःखका साथीदेखि दूधबाजेसम्म’

blog

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

गोरखापत्र अनलाइन 

काठमाडौं, फागुन २९ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा आफूसँग बन्दी जीवन बिताएका राजनीतिकर्मीहरूलाई आमन्त्रण गर्नुभएको छ । शपथ ग्रहण आजै दिउँसो १ बजेपछि सुरु हुनेछ । 

पञ्चायतको ३० वर्षमा प्रजातन्त्र लागि भएका आन्दोलनमा सहभागी हुँदा १३ वर्ष र प्रजातन्त्र प्राप्ति भएपछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा एक वर्ष गरी करिब १४ वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएका पौडेलले दुःखका बेलाका साथीलाई खुसीका बेलामा सम्झनुभएको हो । 

नवनिर्वाचित राष्ट्रपति पौडेलको निजी सचिवालयका अनुसार, शपथ ग्रहण समारोहमा इन्दु शर्मा, गोविन्द कँडेल, रघुराम शर्मालाई आमन्त्रण गरिएको छ, उहाँहरू पौडेलसँग बन्दी जीवन बिताउनुभएका राजनीतिककर्मी हुनुहुन्छ । 

यसैगरी, बागलुङ कारागारमा बन्दी जीवन बिताउँदा दूध पु¥याउने डिलप्रसाद सापकोटा (सापकोटा बाजे) पनि आजका अतिथि हुनुहुन्छ । सापकोटा बाजेलाई बागलुङबाटै बोलाइएको हो । 

गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘मलाई बोलाउनुभएको छ, म आउने तयारीमा पनि थिएँ तर घरमा एक्कासि काम परेर आज आउन सकिनँ । पछि आउनेछु ।’’ उहाँले २०४६ सालमा जेलमा रहँदा नेताहरूलाई सेवा गर्ने मौका पाएको सुनाउनुभयो । 

पौडेलको तर्फबाट डा. मीनेन्द्र रिजाल,  सुजाता कोइराला,  कृष्णप्रसाद सिटौला, अन्जना भण्डारी,  भवेश्वर गुरुङ,  वीरेन्द्रभक्त श्रेष्ठ, इन्दु शर्मा पौडेल, गोविन्द कँडेल –बाग्लुङ, गोपाल पराजुली–तनहुँ, लोकनाथ आचार्य, अशोक अग्रवाल, दिव्यकुमार श्रेष्ठ, उद्धव पौडेल, काठमाडौं, जगदीश शर्मा,  माथवरसिं बस्नेत,  जगदीश शर्मा,  डिलप्रसाद सापकोटा, यज्ञेश्वर पोखरेल, रामप्रसाद कसुला, ओमकार श्रेष्ठ,  श्वर घिमिरे, होम रसाइली, दीपक मल्ल, तीर्थराम डङ्गोल, वैकुण्ठ मिश्र, अमरराज कैनीलाई आमन्त्रण गरिएको छ । 

राष्ट्रपति भवनमा हुने शपथ ग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि उपराष्ट्रपति, प्रधानमन्त्रीसहितको राज्यका विशिष्ट व्यक्तिहरूलाई भने राष्ट्रपति कार्यालयले निमन्त्रणा गरिसकेको छ ।