• १३ साउन २०८१, आइतबार

अर्थतन्त्रमा सुधारको खाँचो

blog

काठमाडौँ, फागुन २९ गते । अर्थतन्त्र सुधार गर्न नयाँ सरकारलाई अवसरसँगै चुनौती रहेको विज्ञहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा उहाँहरूले मुलुकमा देखा परेको आर्थिक सङ्कट सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो । 

सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक अवस्था सही ठाउँमा ल्याउन तत्कालीन र दीर्घकालीन उपाय पहिल्याएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्रीले प्राथमिकताका साथ सोच्नुपर्ने चर्चा गर्दै उहाँले २४–२५ वर्षपछि सार्वजनिक वित्तको अवस्था कमजोर हुँदा यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । 

महामन्त्री थापाले जनतालाई देश श्रीलङ्का हुन्छ भन्दै डर देखाउनेभन्दा पनि प्रधानमन्त्री र उहाँको टिम हरेक क्षण आफू डराएर अर्थतन्त्रबारे विवेचना गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अबको पाँच वर्षमा जनताको अपेक्षाअनुसारको काम गर्न नसके दण्ड र सजाय भोग्न सबै सत्तारूढ दल तयार हुनुपर्ने उहाँको भनाइ थियो ।

बजेट विनियोजन र खर्चको गुणस्तरमा सरकारले ध्यान दिनुपर्ने थापाले सुझाव दिनुभयो । “बैङ्कमा तरलताको अभाव छ, कर्जासँगै ऋण पाउन कठिन छ, प्रत्येक क्षेत्रमा तत्काल कसरी सुधार गर्ने भन्नेतर्फ लाग्नुपर्छ,” उहाँले भन्नुभयो । 

कार्यक्रममा अर्थशास्त्री डा. गोविन्द नेपालले मुलुकको आर्थिक समृद्धिका निम्ति नयाँ सरकार सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्थतन्त्रका सूचक सामान्य हुँदै गएकाले समग्र आर्थिक अवस्था भने सङ्कट उन्मुख भइनसकेको उहाँको भनाइ छ । 

आर्थिक समस्या समाधान र सुधार गर्न नयाँ सरकारले लगानी आकर्षण गर्ने, पूर्वाधार विकास, रोजगारी वृद्धि गर्न कृषि र पर्यटन केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।