अविनाश चौधरी
धनगढी, फागुन २८ गते। राना थारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले फागुन ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले राना थारु समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि, खख्डेहरा पर्वको बिदा चैत १ गते कायम गरिएको थियो।तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा संशोधन गर्दै फागुन ३० गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिनुभयो।
होरी पर्वको क्रममा मनाइने खख्डेहरा राना थारु समुदायको सबैभन्दा ठूलो पर्व हो।दुई जिल्लामा बसोबास रहेको राना थारु समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्दछन्। मङ्गलबार खख्डेहराको दिनबाट औपचारिक रूपमा होरी पर्व समापन हुनेछ।होरी पर्वको अवसरमा होरी नाच नाच्ने चलन रहेको छ।