• २५ पुस २०८१, बिहिबार

महत्वपूर्ण खेलमा नेपाल युएईविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

टस गर्दै नेपाल र युएईका कप्तान । तस्बिर : क्यान

काठमाडौं, फागुन २८ गते । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । 

त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईविरुद्ध आज नेपालले यसअघिल्ला खेलमा टिममा रहनुभएका करण केसी र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी र अलराउन्डर गुलशन झालाई समावेश गरेको छ ।

लिगकै अन्तिम सिरिजको रुपमा रहेको यस प्रतियोगितामा नेपालका लागि सबै खेल महत्वपूर्ण रहेको छ । नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन सबै (तीन वटै) खेल जित्नै पर्ने बाध्यता छ ।

नेपाल, युएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो । यता विश्वकप छनोटबाट बाहिरिएको युएई पनि एकदिवसीय मान्यता कायम राख्न नेपाललाई हराउने लक्ष्यमा छ । 

युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नुपर्ने हुन्छ । यस लिगमा नेपाल अहिले ३३ खेलबाट ३४ अङ्क जोड्दै पाँचौं स्थनमा छ । युएई ३३ खेलबाट ३१ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

पीएनजी ३४ खेलबाट ११ अङ्कसहित तालिकाको अन्तिममा छ । नेपालले तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । यो सिरिज लिग–२ को अन्तिम खेल पनि हो । 

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । हरेक टोलीलाई एकदिवसीय मान्यता कायम राख्न कम्तीमा पाँचौँ स्थानमा रहनुपर्नेछ ।