• ८ मंसिर २०८१, शनिबार

ऐँठन

blog

जीवनका यति धेरै पाइलाको उकाली ओरालीपछि आजभोलि मलाई कहाँ के पुगेन भन्ने कुराले सताइरहेछ । म बाँचेको संसार, मेरो परिवेश, मेरा चाहना र महत्वाकाङ्क्षा, मेरो हिम्मत र मैले सिक्दै आएको ज्ञानको क्षितिज पनि साना र साँघुरा पक्कै थिएनन् । मेरो जीवनप्रतिको मोह पनि कम लोभलाग्दो थिएन, न त मेरो जीवनदृष्टि नै थियो खजमजिएको र अस्पष्ट । सपनाहरू पनि हजारौँ थिए । यसमा सीमाहरू, बाधा र अड्चनका गाँठाहरू भने नभएका होइनन् । तिनलाई फुकाउन सक्ने विश्वास, आँट, धैर्य र लगनशीलता ममा भरिएकै थिए । तर आजको मेरो भोगाइ र मेरा सपनाको तालमेल किन मिल्दैन ? किन स्वप्निल यौवनका अतृप्त उतारचढावको व्यग्रता मेरा मनभरि ? यो यक्ष प्रश्न बनेर मेरो मथिङ्गल फनफनाइरहेछ । 

बाँच्न त म बाँचेकै छु, हाँसेकै छु । सबै सामान्य नै छन्, जिन्दगी चलेकै छ । मेरो सुदूर भूतलाई नियाल्दा मलाई यो ज्ञात हुँदैछ कि म मेरा लागि कहिल्लै बाँच्नै पाइनँ । सपना, चाहना, महत्वाकाङ्क्षा, जसलाई जीवनभरि मेरा भनी काँधमा बोकेर घिस्रिरहेँ ती सबै मेरा नै रहेनछन् । जीवनको यो चरणमा पूर्वाद्र्र्ध नियाल्दा कहाली लाग्छ । म यहाँसम्म किन आएँ ? कसरी आएँ र कसका लागि आएँ ? कस्तो जीवनमार्ग बनाएर आएँ ? किन यस्तो भयो ? अन्य विकल्प थिएनन् वा खोज्न सकिँदैनथ्यो ? केके र ककसले रोके, किन र कसरी ? रोकिनुमा मेरा सीमाहरूको नैतिकता कति सबल रह्यो ? विकल्पविहीन त संसारमा केही पनि र कोही पनि हुँदैन । यो आजसम्म मैले नबुझेको र अब बुझ्न नचाहेको हो ।

विकल्पहरूको खोजी जीवनको शाश्वत प्रयत्न हो भन्ने मेरो दृढ विश्वास छ । म यही विश्वासमा आस्थाको डोरीले लतारिएर अगाडि बढिरहँे र अझै पनि यो प्रयास जारी छ । सफलता र विफलताको बहीखाता मैले बन्द गरिसकेको छु । यो नाप्ने, जोख्ने र हिसाबकिताब राख्ने काम फुर्सदिलो समाजको जिम्मामा छाडेको धेरै भइसकेको छ । हो, यहीँनेर म बढी खुसी र आनन्दित बनेको छु । अरूलाई ढाँटेजस्तो आफैँलाई ढाँट्न सकिँदो रहेनछ, आफ्नै मनलाई सम्झाउँन पनि सकिँदैन । तर मनबाट प्राप्त हुने खुसी कुनै अन्यबाट मिल्दै मिल्दैन । यो सत्यलाई बुझ्न सकेर नै म आज हाँस्न सकेको छु, नाच्न सकेको छु र छु जीवन बाँच्न । जीवन त जीवन नै हो, मेरो हो र हो केवल मेरो मात्रै ।

के भयो त आफन्तहरू टाढिए, मित्रहरू पाखा लागे, परिवारले सफलताको तुलोमा मेरा प्राप्तिलाई तौलने गरे । यी सब त जीवन हुन् र जीवन भोगाइ अनि जीवनमूल्य । बाँच्नुको मजा त यसैमा रहेछ, बल्ल महसुस हुँदैछ । सानोमा बाबुआमाको ज्ञानी छोरो हुनलाई बालापन मारँे, पढाइमा राम्रो हुन स्कुले जीवनको स्वर्णिम समय बर्बाद गरेँ, तरुनोमा भविष्यको सुन्दर मृगतृष्णामा जवानी मारेँ । यहीँनेर हिसाबकिताब बिग्रियो, मिलाउन जानिएन, बुझिएन र सकिएन । अब खेद पनि किन गर्नु ? यी सब आफैँ गरेँ, आफूले आफैँ गर्न लगाएँ, आफ्नै लागि गरेँ र आफैँ बन्नका लागि गरेँ । यथार्थ त यही हो । ईश्वरवादीले परमात्मामा मन लगाएझैँ जीवन अड्याउने टेको नै यही हो भन्ने मलाई लाग्छ ।

जीवनका सुदूर सुन्दरता खुट्याउन कुनै दर्शनशास्त्रको ज्ञाता बन्नु पर्दैन । समय र मानव स्वभाव बुझे काफी हुन्छ । हुन त यी दुवै कुरा अत्यन्त अमूर्तजस्ता लाग्छन् । वास्तवमा यी मूर्त छन् तर यिनको स्वरूपमा नजानिँदो अमूर्त जालीले पर्दाको आँखीझ्याल बन्द गरेका हुन्छन् । समयले त कसैलाई ठूलो सानो, राम्रो नराम्रो असल खराब, सफल असफल कुनै कसीमा तौलनै सक्दैन । यी यसका सीमा र सामथ्र्यभन्दा परका अवस्था हुन्छन् । समयले सबैलाई समान युग, शताब्दी, दशक, वर्ष, ऋतु, महिना, दिन, घण्टा, मिनेट, सेकेन्ड र निमेष बिनाभेदभाव दिएको हुन्छ । मानव स्वभाव सभ्यताको सुरुवातसँगै अरूलाई पछारेर आपूm अगाडि पुग्ने अभ्यासबाट शिक्षित र दीक्षित भएको हो । योसँग कस्तो गुनासो ? यसलाई बुझिएन भनेर कोकोहोलो गर्नु कसरी मनासिव हुन्छ ? म कहाँनेर चुकेँ, किन बुझैर पनि आत्मसात् गर्न सकिनँ ? यो आजका मितिमा मेरा लागि भयानकता भित्रको कुरूप वास्तविकता बन्दै छ ।

आशामा विश्वास र विश्वासमा संसार टिकेको सत्य हो । कसैसँग त्यही आस राखियो भने जीवन बबन्डरयुक्त भुमरीमा पर्ने निश्चित हुन्छ । आस माथिका आस्था भत्किन समय नै लाग्दैन । भरोसा टुट्ने, विश्वास धरमराउने र समग्रमा उदेक र नैराश्यको जन्म यसका स्वाभाविक प्रक्रिया बन्न पुग्छन् । यो सत्यको बोधपछि पनि म किन कसैका पछाडि लट्टुजस्तै फनफनी नाँचिरहेको छु ? मेरा सपनालाई उसैका नशालु आँखाका अनगन्ती रोमान्सले खर्लप्पै निलिरहेका छन् । म म रहिन । यो कस्तो मोहक शक्ति छ उसमा । चाहेर पनि म उसबाट उम्कनै सक्दिनँ । ऊ मभित्र वा म ऊभित्र अन्तर घुलित भइरहेको गजबको अवस्थामा छु म आजभोलि । 

उसमा यसको प्रभाव र उसको मनको प्रतिक्रिया के छ ? म पटक्कै बुझ्दिनँ । यो कस्तो अर्को उदेक ? के हुन लागिरहे छ ? बुद्धिलाई बारम्बार कसरी धोका दिन सक्छ मनले ? मनसँग त्यस्तो चामत्कारिक शक्ति के छ ? जिन्दगानीका लामा उतारचढावबाट सिकेका बुद्धिका पत्रहरू किन पटक पटक धोका खान रमाउँछन् ? आशा, आस्था, भरोसा, विश्वास भाँचिएपछि कुनै हाडजोर्नी विज्ञले जस्तै जोड्ने प्रविधि बुद्धिले विकास गरेको मलाई ज्ञात छैन । यी न अप्रेसनले न औषधि, वैद्य, लामा, धामी, झाँक्री वा अरू कसैले निको बनाउन सकिने खालका हुन्छन् । 

मनवीय सम्बन्ध भयानक स्वार्थको जालोमा घेरिएको हुन्छ । बाबुआमा, दाजुभाइ, दिदीबहिनी, श्रीमती, छोराछोरी आफन्त, इष्टमित्र, प्रेमीप्रेमिका, साथीहरू सम्पूर्णका सम्पूर्ण आसको ताक लगाएर पालो कुरिरहेका हुन्छन् । प्राप्तिको सम्भावानभित्र मात्र उनीहरूको उपस्थितिलाई कसरी अथ्र्याउने ? म र मेरा सपनासँग उनीहरूको सुदूर क्षितिजसम्मकै साइनो नहुने सत्यसँग जोरी किन खोज्नु ? यो कस्तो मुढेबलको तुजुक हो मेरो ? सपना त नितान्त वैयक्तिक हुन्छन् । व्यक्ति आफ्ना सपनामा एक्लै बाँच्छ, रमाउँछ र जीवनको सार्थकाताभित्रको सुन्दरतालाई अनुभूत गर्छ । मेरा सपना मेरा हुन, मेरा वैयक्तिक निधि र मेरा जीवन सार । म यिनैसँग बाँचेको छु, र बाँच्नुपर्छ । यिनलाई न कसैलाई भागबण्डा गर्नुपर्छ, न कसैलाई बेचिन्छ, न त कसैले किन्छ नै । त्यसैले व्यक्तिलाई सपना अत्यन्त प्रिय र सुमधुर लाग्ने गर्छन् । मलाई पनि मेरा सपना मेरो प्राणभन्दा निकै प्राणदायी छन् । तर मेरा सपनाको रक्षामा किन सधैँ असफल र निरीह बन्दै गइरहेको छु ? सपना मबाट फुस्किरहेका छन्, म हेरीबस्न किन विवश छु ?

हो, मेरा सपना र मेरा सम्बन्धको आपसी तालमेलमा बेमेलको स्पष्ट चित्र भेटिन्छ । यसको जिम्मेवार म हुँ कि मेरा सम्बन्ध ? यसको गणितीय रेखाचित्र कोर्न मलाई फिटिक्कै जाँगर छैन । समयलाई सपनाको जिम्मा लगाउँन पनि म सक्दिनँ । मनबाट सपना चिप्लिरहेको टुलुटुलु हेर्नु पर्ने बाध्यताबीच म उभिएको छु । यो सकस, यो उद्वेग, यो मनको व्यग्रता र छटपटी कहाँ, कहिले, कसरी र कोबाट शान्त हुन्छ ? मृगतृष्णाकै रूपमा रहिरहन्छ वा तृप्ति मिल्छ ? मेरो मन र मेरा सपनाहरू मसँगै रहन्छन् वा सपनाको असामयिक निधनको भयानकतामा समाधिस्थ हुन्छन् ? जवाफ दिन नसकिने अनुत्तरित प्रश्हरूको रासले म थिचिइरहेको छु र ऐँठन पारिरहेछ ।