• ८ मंसिर २०८१, शनिबार

थामिएन विदेशिने नेपालीको लस्कर

blog

काठमाडौँ, फागुन १७ गते । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् । 

यो पनि पढ्नुहोस

नो अब्जेक्सन लेटर लिनेको पनि भीड

विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)मा जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले भन्नुभयो, “मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ । 

माघमा मात्रै पाँच हजार ८३७ महिलासहित ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो सङ्ख्या वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । सो अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ । 

सात महिनामा सबैभन्दा धेरै मलेसियामा जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार छ । सो अवधिमा कतारका लागि १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, संयुक्त अरब इमिरेट्स (यूएई) नौ हजार ७७० र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो पटक विगतको तुलनामा युरोप र एसियाली मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । 

गत माघ महिनामा रोमानिया जान ८०४, जापान ८८२, साइप्रस ४१७, क्रोएसिया ४७१, माल्टा २७०, पोल्यान्ड ७२० र पोर्चुगल जान ४५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

त्यसो त पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् । श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँमा छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने प्रत्येक मन्त्रीले बाध्यात्मक वैदेशिक रोजगारलाई शून्यमा झार्ने र स्वदेशको रोजगारीलाई प्राथमिकता दिने विषयलाई प्राथमिकतामा पारेको पाइन्छ । गत महिना १९ दिन श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका डोलप्रसाद अर्यालले पनि यही कुरालाई निरन्तरता दिनुभयो । स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या हेर्दा त तत्काल बाध्यात्मक वैदेशिक रोजगारी रोकिने अवस्था नदेखिने सरोकारवाला बताउँछन् । 

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले स्वदेशमा रोजगारीका विकल्प तयार नगरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा तत्काल सम्भव नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्ला श्रममन्त्रीहरूले बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्ने गरेको भए त्यो चर्चा कमाउन मात्रै गरेको बताउनुभयो ।” 

विभागका अनुसार चालू आर्थिक वर्ष २०७९÷८० को साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८/६८ हजार, पुसमा ६५ हजार र माघमा ६४ हजारले श्रम स्वीकृति लिएका छन् ।

सरकारले हालै मात्र वैदेशिक रोजगारीमा जानेका लागि सातै प्रदेशबाट सबै सेवा दिने व्यवस्था लागू गरेको छ । यसले आगामी दिनमा विदेश जानेको सङ्ख्या झनै बढ्ने सम्भावना देखिन्छ । सरकारले गत महिनादेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सम्पूर्ण व्यवस्था गरेको छ । 

गत वर्ष आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रम स्वीकृति लिई विदेशिएका थिए । विभागका अनुसार साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म कायम छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन सहज गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक फेरि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जना युवाले श्रम स्वीकृति लिएर विदेशिएका थिए । आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ ।