गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे’ लिस्टबाट बाहिर ल्याउनु जरुरी रहेको भन्दै त्यसका लागि सुशासनका काम गर्नुपर्ने जनमत अनुसार सरकारले काम गर्ने बताउनुभएको छ ।
स्टक ब्रोकर्स एसोसिएसनको प्रतिनिधि मण्डलसँग सोमबार भएको भेटवार्तामा उहाँले केही अनुसन्धान पुरानै रहेको र अहिले अन्तिमतिर पुगेको जानकारी दिनुभयो ।
उहाँले अपराध गरेकालाई उन्मुक्ति नहुने हुँदैन तर व्यापारी व्यवसायीमाथि छानीछानी प्रतिशोध नहुने आश्वासन दिनुभयो । उहाँले सरकार निजी क्षेत्रमैत्री रहेको भन्ने आधार आफ्नो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्ने बताउँदै रास्वपा र सरकार निजी क्षेत्रविरोधी नभएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री वाग्लेले आफूहरू अर्थतन्त्रलाई कहाँबाट कहाँ पु¥याउने भनेर लागेको भन्दै आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउने बताउनुभयो ।
त्यसैले नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदै गरेको बताउँदै हल्ला र गलत अफवाहको पछि नलाग्न पनि सुझाव दिनुभयो ।
सेयर बजारमा सबैभन्दा उदार पार्टी र घोषणापत्रमै स्पष्ट धारणा राख्ने आफूहरू भए पनि अहिले अफवाह फैलाइँदै गरेको गुनासो गर्दै उहाँले त्यसको पछि नलाग्न आग्रह गर्छु ।
भेटमा ब्रोकरका प्रतिनिधिले वर्तमान बजारमा सेयर बेचेर निस्किएका र बजारबाट सेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाइरहेको बताएका थिए । त्यसै कारण साना लगानीकर्ता आत्तिएको उहाँहरूको भनाइ थियो ।
प्रतिनिधि मण्डलले संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी रहेको भन्दै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भएको तर अनुसन्धान गोप्य राखिनुपर्नेमा त्यो नभएको गुनासो गरेको थियो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग आज भएको छलफलमा पनि अर्थमन्त्री डा. वाग्लेले सेयर बजारप्रति सरकारको नीति स्पष्ट पार्दै साना लगानीकर्तालाई आतङ्कित पार्ने गतिविधि अनुचित भएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नेपालमा सेयर बजार अन्य धेरै क्षेत्रभन्दा व्यवस्थित र पारदर्शी रहेको छ । पेपरलेस प्रणाली, बैङ्कमार्फत कारोबार, लाभांश सिधै खातामा जम्मा हुने व्यवस्था, स्पष्ट कर प्रणाली तथा खरिदबिक्रीको ट्र्याकिङ सम्भव भएकाले यो क्षेत्र विश्वसनीय रहेको उहाँको भनाइ थियो ।