एक युग एक चोटि आउँछ । एक चोटि आउने युग यत्तिकै आउने होइन । उलटपुलट, उथलपुथल, क्रमभङ्ग, महान् विपत्ति र महान् छलाङ्गमय गतिमा सो युग आउँछ । क्रान्ति वा परिवर्तन निम्तो दिएर आउँदैन । यथास्थितिमा रहेका उपरिसंरचनादेखि दैनिक सूक्ष्म जीवनसम्म यो राजनीतिक व्यवस्थाले आमूल परिवर्तन गर्छ । यसरी संरचनागत अवधारणामा रहेका राजनीतिक अङ्गहरूमै व्यापक हेरफेर हुन्छ । यस्तो रूपान्तरणका वाहक वा रूपान्तरण गर्ने एजेन्डा वा मुद्दा नै मुख्य राजनीतिको मुख्य प्रस्थानबिन्दु हो ।
“राजनीतिक एजेन्डा र नेतृत्व सही र समयसापेक्ष छ भने प्राप्त उपलब्धि हासिल हुन्छन्, यदि सही र युग सुहाउँदो छैन भने प्राप्त भएका उपलब्धि गुमेर जान्छन्” भन्ने माक्र्सवादी द्वन्द्ववादी मान्यता छ । नीति र नेतृत्व वा नेता एक आपसमा अन्तरसम्बन्धित छन् । नेतृत्वलाई नीतिगत अवधारणा स्थापित गर्न एक युग आवश्यक पर्न सक्छ । भनिन्छ, “एक रातमा रोम बनेको होइन” भनेजस्तै एक नेताको जन्म हुन र स्थापित हुन लामो समयसम्म राजनीतिको तराजुमा जोखिनुपर्छ । राजनेता वा विश्व नेता बन्न एक शताब्दी लाग्न सक्छ । यसरी स्थापित हुने नेताको नीति, नीतिको महìव, नीतिको औचित्यता, नीतिको तादात्म्यता हुनु आवश्यक छ । नेताको पहिचान, अस्तित्व, महिमा र गौरवपूर्ण इतिहास स्मरणयोग्य हुनु जरुरी छ । जनता, समाज, देश र विश्वको मार्गदर्शन गरेको योगदानको उचित कदर हुन सके मात्र नेता कालजयी वा अमर हुन सक्छ ।
नेताको पहिचान भनेको उसले लिएका सिद्धान्त, दर्शन, नीति र मुद्दासँग जोडेर विश्लेषण गरिन्छ । नेताको पहिचान ‘म’बाट सुरु भएर ‘हामी’ हुँदै क्षेत्र, लिङ्ग, जाति, वर्ग र राष्ट्रसँग अविभाज्य भएर प्रतिविम्बित हुन्छ । पहिचान साङ्केतिक रूपमा ‘हामी’ वा ‘हाम्रो’ भन्ने सामूहिक भावनासँग सम्बन्धित हुन्छ । महान् दार्शनिक इमाइल दुर्खिमको वर्गीय सचेतना, म्याक्स वेभरको भस्र्टेहेन र टोनिसको जेमिन्सस्याफ्ट सामाजिक अवधारणामा सन्निकट देखिन्छन् । राजनीतिक रूपमा साझा विचार र उद्देश्यसँग पहिचानले प्रतिनिधित्व गरेको हुन्छ । फोकल्र्टका अनुसार एकै व्यक्ति÷नेताका बहुआयामिक पहिचान हुन सक्छ । बहुआयामिक पहिचान बृहत् संरचनासँग अन्तरनिहित हुन्छन् ।
नेपालमा पहिचानको आन्दोलन नयाँ सामाजिक आन्दोलनका रूपमा स्थापित छ । जातीय, क्षेत्रीय, भाषिक रूपमा पहिचानका आन्दोलन भएका छन् । दास, प्रजा, जनता, नागरिकजस्ता प्रवर्गका लागि भएका पहिचानसँग सम्बन्धित आवाजहरू र पहिचानजनित सङ्घर्षसँग राजनीतिक मुद्दा मुखरित हुन्छन् । नेपालमा यस्ता साना–ठूला आन्दोलन भए, ती आन्दोलनका एजेन्डा, प्रस्थानबिन्दु र मिलनबिन्दुहरू आर्थिकभन्दा सामाजिक राजनीतिक प्रकृतिका थिए र हुन्छन् पनि । ती आन्दोलनका एजेन्डा र नेतृत्वको केन्द्रबिन्दुमा यो वा त्यो रूपमा, युगान्तकारी जनयुद्धले दिशानिर्देशन गरेको देखिन्छ । सोको नेतृत्व प्रत्यक्ष रूपमा ‘सुप्रिमो’ क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । यसरी महामन्त्री प्रचण्ड हुँदै प्रधानमन्त्री प्रचण्डसम्म सबै यस्ता नयाँ प्रकारका सामाजिक र राजीतिक आन्दोलनका नेतृत्वकर्ता भनेर उहाँको नाम युगान्तकारी सुनौला अक्षरले इतिहासका पानामा लेखिएका छन् ।
नेपालको २४० वर्षे राजतन्त्रलाई विस्थापित गर्दै गणतन्त्र, प्रजातन्त्र परिमार्जित गर्दै लोकतन्त्र र सङ्घीयताको मुखाकृति गर्ने अग्रणी उहाँकै नेतृत्वमा भएको हो । १२ बुँदै समझदारी होस् वा विस्तृत शान्ति सम्झौताको मुख्य हस्ताक्षरकर्ता जसले १० वर्षे सशस्त्र जनयुद्धलाई शान्तिपूर्ण रूपमा यो अवस्थामा ल्याइपु¥याउनुभयो । शान्तिको अनुयायी गौतम बुद्धको देश नेपाललाई वास्तवमै शान्तिको देश बनाउन उहाँले एक असल राजनेताको भूमिका निर्वाह गर्नुभयो । धर्मनिरपेक्ष मुलुकका रूपमा परिचय बन्यो नेपालको । चार जात ३६ वर्णको साझा फूलबारीको नेपाललाई राजनीतिक रूपमा समानुपातिक र समावेशी नेपाल निर्माण गर्नुभयो । मधेश प्रदेशलगायत पहिचानसँग जोडिएका प्रदेशहरूको जन्म यत्तिकै भएका छैनन् । नेपाल साम्यवादी युगमा प्रवेश गर्नका लागि समाजवादी राज्यव्यवस्था हुने विषयमा नयाँ संविधानको प्रस्तावनामा उल्लेख छ ।
२०४६ सालको जनआन्दोलनदेखि एक झिल्कोका रूपमा उदाउनुभएका उहाँ तीन दशकदेखि नेपाली राजनीतिक वृत्तमा मात्र होइन, सर्वहारा मुक्ति आन्दोलनको प्रमुख हर्ताकर्ताका रूपमा स्थापित हुनुहुन्छ । २०५२ साल फागुन १ गते जनयुद्धको शङ्खघोष भएपछि असली रूपमा उहाँको बहुआयामिक पहिचान झल्किएको हो । अन्तर्राष्ट्रिय सर्वहारावर्गको समकालीन विश्वमा नयाँ विचार शृङ्खलासहित व्यावहारिक रूपमा जनयुद्धको सही प्रयोग उहाँले गर्नुभयो । शक्ति सन्तुलनसहित सात दलसँग मिलेर दोस्रो आन्दोलनको बलमा उहाँले राजतन्त्रलाई इतिहासमा सीमित गराउन मुख्य भूमिका निर्वाह गर्नुभयो । त्यसपछि संविधान निर्माण गर्नेसम्मको उहाँको नेतृत्व कौशलता, क्षमता र दूरदर्शिता अतुलनीय छ । विभिन्न रूपले पार्टीमा उहाँका नाम राखिए तर उहाँलाई कमरेड प्रचण्ड (क. प्रचण्ड) असाध्यै मन पर्ने पार्टीको नाम हो । जनयुद्धको नायकका रूपमा पनि यही नामले उहाँलाई विश्व जगत्मा स्थापित गराएको छ । त्यसैले क. प्रचण्ड उहाँको भूमिगत पार्टीको नाम मात्र होइन, उहाँको प्रोफाइल हो, वर्गचेत हो, आन्दोलित हुने भावना हो, जुझारु विद्रोहको आवेग हो, दर्शन हो ।
५७५ सिटको पहिलो संविधान सभामा २२० सिट र सोही सङ्ख्याको दोस्रो संविधान सभामा ८० सिट, २७५ सिटको पहिलो प्रतिनिधि सभामा नेकपा (एमाले)सँग मिलेर ५३ सिट र सोही सङ्ख्याको दोस्रो प्रतिनिधि सभामा नेपाली काँग्रेससँग मिलेर ३२ सिट पाएको छ माओवादीले । सिट सङ्ख्या घटिरहेको छ तर बहुमत प्राप्त भएर सरकारको नेतृत्व गर्दा होस् वा भनौँ कम मत पाएर तेस्रो शक्तिका रूपमा खुम्चिनु पर्दासम्म पनि सो पार्टीले लिएका मूल मुद्दा र नेतृत्वकै वरिपरि नेपाली राजनीति घुमिरहेको छ । प्रचण्डको चामत्कारिक राज्यसत्तामा विश्वास गर्ने बानी परेर हो वा अरू नै कारण होस्, उहाँको भनाइ नै काफी छ । यथास्थितिबाट प्रतिगमनतर्फ लैजान चाहने शक्ति होस् वा यथास्थितिमै बस्न चाहने शक्तिले हरप्रकारले दुष्प्रयास गरे पनि उहाँ झन् नयाँ कार्यनीतिसहित रणनीतितर्फ लम्किरहनुभएको छ ।
वर्तमान अवस्थामा महामन्त्री प्रचण्ड हुँदै प्रधानमन्त्री प्रचण्डसम्म नेपालको सत्ताको बागडोर सम्हालिरहँदा उहाँले प्रतिपादन गर्नुभएको ‘प्रचण्ड पथ’लाई कुनै पनि हदमा बेवास्ता गर्न मिल्दैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदै तेस्रो पटक प्रधानमन्त्री बन्दा करिब शतप्रतिशत उहाँले विश्वासको मत प्राप्त गर्नुभयो । सत्ता साझेदार, विश्वासको मत दिने दल, सडकमा रहेका दलसँग मोर्चाबन्दी गरेर उहाँले सरकार, सदन र सडकबाट प्रत्यक्ष वा परोक्ष रूपमा नेतृत्व गर्नुभएको छ । उता अन्तर्राष्ट्रिय भाइचाराहरूसँगको सामीप्यताले पनि उहाँ दृढसङ्कल्पसहित अग्रगमनको दिशामा हुनुहुन्छ भन्ने देखिन्छ ।
उहाँले प्रतिपादन गर्नुभएको विचार स्थापित भइरहेकाले पनि नेपाललाई युगसुहाउँदो विकासको मोडललाई सफलतापूर्वक अगाडि बढाइरहनुभएको छ । उहाँको त्याग, तपस्या, बलिदानले स्थापित राजनीतिक उपलब्धिलाई संस्थागत गर्नु साटो विभिन्न कोणबाट विरोधका स्वरहरू सुनिन थालेका छन् । राजनीतिक उपलब्धि ठीक छन् तर सो ल्याउने प्रमुख पात्रको विरोध गर्नु न्यायोचित हुँदैन । जनयुद्ध, क. प्रचण्डको पहिचान र योगदानलाई निषेध गर्ने गरी प्रहार भइरहेका छन् । इतिहास कसैले मेटेर मेटिँदैन, गुमराहमा पार्न खोजिए पनि यथार्थता बाहिर आउँछ ।
‘ठोस वस्तुको ठोस विश्लेषण’ भन्ने द्वन्द्ववादी माक्र्सवादलाई हृदयङ्गम गरी रणनीतिक उद्देश्य पूर्तिका लागि कार्यनीतिक रूपमा सधैँ व्यावहारिक रूपमा अभ्यास गर्नुपर्छ । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका उहाँले जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिनुभयो । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जनयुद्धको पहिचान र वैधतासँग अन्तरनिहित छ । शान्तिवार्तापछि प्रचण्डले तीन पटक र सोही पार्टीका नेता डा. बाबुराम भट्टराईले एक पटक सरकारको नेतृत्व गरेर कार्यकौशलता देखाइसक्नुभयो । विद्रोह गरिरहँदा संसदीय पार्टीहरूलाई आफ्नो प्रभावमा पार्न सकेका प्रचण्डले यस अवधिमा संसद्वादलाई राम्ररी पहिचान गरेर नेपालको राज्यसत्तामा कुशल चालक भएको प्रमाणित गर्नुभएको छ ।
राज्यसत्ताको प्राधिकार एक व्यक्ति अर्थात् कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने विश्वास राख्ने उहाँले वर्तमान अवस्थामा शक्ति पृथकीकरणको सिद्धान्तमा जोड दिनुभएको छ । राजनीतिसँगै कूटनीतिलाई समानान्तर ढङ्गले अगाडि बढाउनुपर्छ भन्ने दूरदष्टा प्रचण्डको पहिचान सोहीअनुसार स्थापित हुनुपर्छ । पछिल्लो समय प्रचण्डले राष्ट्रिय सहमतिमा जोड दिनुभएको छ । खासगरी आसन्न राष्ट्रपतिको निर्वाचनमा मुख्य राजनीतिक दलहरूका बीचमा सहमति जुटाउन उहाँले गर्नुभएको प्रयासको धेरै क्षेत्रबाट प्रशंसा गरिएको छ ।
लेखक गोरखापत्र अनलाइनमा आवद्ध हुनुहुन्छ ।