• ११ पुस २०८१, बिहिबार

वालिङका विद्यार्थीलाई सामाजिक कानुन सिकाइँदै

blog

कार्यक्रममा सहभागी विद्यार्थीहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर ९ गते  ।
स्याङ्जाको वालिङ नगरपालिका भित्रका विद्यार्थीहरुलाई सामाजिक कानुनबारे जानकारी गराइएको छ । नगरभित्रका मावि स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक कानुन, आधुनिक प्रविधि र यसको प्रयोगबाट आउन सक्ने समस्या लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विद्यार्थीहरुमा समस्या आएको भन्दै सचेतनाका लागि कार्यक्रम गरिएको वालिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ अध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो । नगरपालिकाले आगामी दिनमा बालबालिका लक्षित कार्यक्रमलाई निरन्तर दिने उहाँको भनाइ छ ।

‘मेरो अधिकार मेरो भविष्य’ अभियानअन्तर्गत गरिएको कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।

दुई दिनसम्म चलेको कार्यक्रममा विद्यार्थीहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने समय, सक्रियता, टेलिभिजन हेर्ने समय लगायतका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । अभिभावकहरु मोवाइलमा भुल्ने तर आफूहरुलाई पढपढ भन्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

नगर भित्र रहेका १६ विद्यालयमध्ये ११ विद्यालयका कक्षा ८, ९ र १० का एक सय जनाभन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले विद्यार्थीहरुको भविष्य राम्रो बनाउन शिक्षक र अभिभावकहरुले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई आफू के गर्दै छु भन्ने जानकारी हुँदैन त्यसैले समयमा नै सचेत बनाउन आवश्यक छ ।”

कार्यक्रम अभियान्ता भजनारायण अर्यालले सामाजिक कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

विद्यार्थीहरुको चालचलन र उनीहरुमा आएको परिवर्तनका बारेमा शिक्षक र अभिभावकले विशेष ध्यान दिनु पर्ने नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका वडा नं.१ को कार्यालयको व्यवस्थापन भएको कार्यक्रममालाई विद्यालय स्तरमा लैजाने योजना बनाएको नगरपालिकाले जनाएको छ ।