• ९ मंसिर २०८१, आइतबार

हेटौँडामा टि-१० क्रिकेट प्रतियोगिता हुने

blog

प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिर्दे आयोजक । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर ९ गते । सर्वाधिक राशिको पुरस्कारसहित मकवानपुरमा टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरले जिल्लामै पहिलोपटक सर्वाधिक राशिको क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

सङ्गठनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै यही मङ्सिर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा–४, हुप्रचौरमा सञ्चालन हुने क्रिकेट प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा बागमती प्रदेशका सात र मधेश प्रदेशका नौ टिमले सहभागिता जनाउने नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरका बरिष्ठ उपाध्यक्ष अब्दुल्ला अन्सारीले जानकारी दिनुभयो । 

नकाउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले एक लाख नगद र उप विजेताले नगद ५० हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा बेष्ट ब्याट्स म्यान, बेष्ट बलर, हरेक खेलका प्लेयर अर्फ द म्याच र प्रतियोगिताका उत्कृष्टलाई ट्रफी प्रदान गरिने प्रतियोगिताका सह संयोजक प्रमोद मानन्धरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्नका लागि करिवब छ लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेशका अध्यक्ष समिम खानले दुई प्रदेशबीचको सम्बन्ध स्थापित गर्न र खेलकुदको विकासका लागि क्रिकेट प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उहाँले प्रदेश प्रदेशका खेलाडी बिच हुने प्रतियोगिताले क्रिकेटको वृद्धि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकार सम्मेलन कार्यक्रममा मकवानपुर क्रिकेट सङ्घका सचिव विनोद बानियाँलगायत खेलाडीहरुको सहभागिता थियो ।