• ४ असार २०८२, बुधबार

उपमहानगरका वडाध्यक्ष न्यौपानेमाथि आक्रमण

blog

राममणि दाहाल

मकवानपुर, असार ४ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि साङ्घातिक आक्रमण भएको छ।

जग्गा सम्बन्धी समस्या देखाउँदै कालो पोशाकमा मोटरसाइकलमा आएका चार जनाको समूहले बुधबार दिउँसो उहाँलाई कार्यकक्षमै आक्रमण गरेका हुन्। 

अध्यक्ष न्यौपाने माथि उक्त समूह कार्यालयमा रहेको सामग्रीले टाउकोमा प्रहार गरी मोविल छ्यापेका थिए।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण गर्ने गरी सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा लैजाने तयारी गरिहेको समयमा उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका न्यौपानेमाथि आक्रमण भएको हो।

केही समयदेखि हेटौँडा–१ स्वर्गलोक हेटौँडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षण कार्य अघि बढाउँदै आएकोमा उपमहानगरको उक्त कार्यप्रति असन्तुष्ट समूहबाट आक्रमणको घटनाभएको पाइएको छ। 

घटनापछि उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्ष घटना स्थल पुगेर अवस्थाको बारेमा जानकारी लिनुभएको थियो। 

घटनाको विषेश ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई आग्रह गर्नुभयो। नगर प्रमुख लामाले घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणकारीलाई तत्काल  कारबाहीको दायरामा ल्याउन भन्नुभएको छ। 

यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो।