चिसो सिरेटोले
मनको अन्तर कुना
छोएर जाँदा अनायास
तिमी याद आउँछौँ ।
भूकम्पले भत्केको खण्डहर देख्छु,
बाढीले बगाएर
बगर बनेको बस्तीका अनाथ देख्छु
थरथर काँपेका ओठ, आत्तिएका पल
रुझेको मन देख्छु,
एक्लै हिँडेका अनकन्टारको
उकालो याद आउँदैन
अहँ पटक्कै याद आउँदैन ।
जाडोमा लुगलुग काम्दै बिताएको पल,
पैसाको अभावमा
तपतप झरेको आँसु याद आउँदैन ।
तर केही पल चौतारीमा भारी
बिसाउन ठिक्क पर्दा ठोक्किएका तिमी
किन पलपल याद आउँछौँ ।
नसमात मेरो कुममा मलाई डर लाग्छ
भन्न नसकेको साँझ किन याद आउँछ ।
घाँसको भारी बोकेर निथ्रुक्क पसिनाले
भिजेको पल किन सम्झन्न ।
थोपा थोपा पानी थापेकी छु
मायाको भाँडामा
भुइँमा नपोखी राखेकी मैले
छताछुल्ल पोखिएको माया
उठाउन सकिनँ किन ?
दाना पनि हैन रहेछ माया
नत्र चामल जस्तै पोखिए
टिप्ने थिएँ ।
माया भनेको पानी जस्तै रहेछ
पोखिए उठाउन सकिन्न ।
अचानक, चिसो सिरेटोले
मनको अन्तर कुना छोएर जाँदा
अनायास तिमी याद आउँछौँ ।