नेपाली श्रम बजारमा बर्सेनि लाखौँ युवा प्रवेश गरिरहेका हुन्छन् । तथ्याङ्कले शिक्षित युवाको सङ्ख्या धेरै मात्रामा रहेको देखिन्छ । सरकारले अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या क्रमशः उकालो लाग्दै गएको छ । विडम्बना हाम्रो शिक्षा प्रणालीको त्रुटिका कारण श्रम बजारमा पुगेका युवा के गर्ने भन्ने अलमल परिराखेको देखिन्छ । यही अलमलका बीचमा लाखौँ युवाले वैदेशिक यात्रालाई उज्यालो भविष्यको गतिलो गन्तव्यका रूपमा देख्न थालेका छन् । युवा पलायनको पछिल्लो अवस्था डरलाग्दो मात्रै होइन भयावह नै छ । ‘नेपालमा बसेर के गर्नु रोजगार नै पाइँदैन’ हरेक युवाका लागि यो नै मानक बोली बन्दै गएको देखिन्छ । जुन नेपालको भविष्यका लागि घातक सिद्ध हुने देखिन्छ ।
युवाले नेपालमा सम्भावना नदेख्नुका पछाडि कैयौँ जिम्मेवार हुन सक्लान् । यसका बारेमा अनेकानेक तर्क गर्न सकिएला तर शैक्षिक दृष्टिले भने व्यावहारिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न नसक्नु नै गम्भीर त्रुटि हो । हामीलाई दिमागमा योजना र ठूला ठूला कुरा बोकेको युवा मात्रै चाहिएको होइन, देशलाई आत्मनिर्भर बनाउनका लागि केही न केही सीप र क्षमता भएको अनि आफ्नो क्षमतालाई आफ्नै माटो मलिलो बनाउनका लागि मेहनत गर्ने युवा चाहिएको हो । हामीलाई रोजगारका लागि बायोडाटा बोकेर अनेक कार्यालयमा तारिख धाउने युवाभन्दा पनि आफैँले केही गरेर उद्यमशील बन्ने र अरूलाई समेत रोजगारी सिर्जना गर्न सक्ने युवा चाहिएको हो । हामीलाई चाहिएको एकातिर छ अनि हाम्रो उत्पादन भने अर्कोतिर छ । यसैको परिणति देशमै केही गर्छु भन्ने युवा सुटकेसमा डिप्रेसन बोकेर विदेश उडिरहेका छन् ।
हाम्रो शिक्षा प्रणालीमा भएको एउटा त्रुटिले सिङ्गो देशलाई युवाविहीन मात्रै बनाउँदै छैन हरेक नेपाली युवालाई नेपालमा गरीखान केही छैन भन्ने सन्देश प्रवाह भएको छ । त्रुटि एक तर यसको प्रभाव अनेक भएका कारण नेपाली शिक्षा प्रणालीमा केही न केही सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । व्यावहारिक शिक्षा आजको अनिवार्य मात्रै होइन अपरिहार्य आवश्यकता भएको छ । यसका लागि नेपालको शिक्षा प्रणालीमा केही परिवर्तन आउनुपर्ने देखिन्छ ।
देशलाई समृद्धिको शिखरमा पु-याउनका लागि उद्यमशिलता र स्वरोजगार नै एक मात्र बलियो अस्त्र हो । उद्यमशिलता विकासका लागि व्यावहारिक शिक्षा प्रदान गर्नुपर्छ । हामीलाई हाम्रो माटो मलिलो बनाउने शिक्षा चाहिएको हो, हामीलाई हाम्रै गाउँबेँसीमा काम लाग्ने सीप चाहिएको हो । हामीले शिक्षा प्रणालीमा व्यावहारिक शिक्षाको विकासका लागि केही महìवपूर्ण विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।
प्राविधिक र व्यावसायिक शिक्षामा जोड : नेपालमा विभिन्न स्तरको प्राविधिक जनशक्ति उत्पादनका लागि भनेर सरकारले सीटीइभीटी सञ्चालन गरेको छ । त्यसअन्तर्गत कैयौँ शिक्षालय सञ्चालन पनि भइरहेका छन् । सीटीइभीटीले दिने प्राविधिक शिक्षालाई हामीले माटो सुहाउँदो बनाउनु आवश्यक छ । नेपालभरि नै एकै खालको पाठ्यक्रम लागू गरेर हामीले विद्यार्थीलाई एउटै आँखाले हेर्ने गरेका छाँै । पहाडी भूभागमा कृषि र वन पढ्ने विद्यार्थीका लागि र तराईमा पनि सोही विषय पढ्ने विद्यार्थीका लागि पढाउने कुरा एकै खालका छन् । हामीले प्राविधिक शिक्षा भनेर सञ्चालन त ग¥यौँ तर त्यो कति व्यावहारिक छ भनेर पछाडि फर्किएनौँ । प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गरेर मात्रै हामीले चाहेजस्तो उत्पादन प्राप्त गर्न सक्दैनौँ । विशेष क्षेत्रका लागि विशिष्टिकृत गरेर नै हामीले कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । यसका साथै विद्यालय तहदेखि नै विद्यार्थीलाई केही न केही काम गर्नुपर्ने खालका विषय समावेश गर्न सकियो भने उनीहरूमा काम गर्ने, सीप सिक्ने र सिकेको सीपबाट केही आर्थिक उपार्जन गर्ने बानीका विकास हुँदै जान्छ ।
शिक्षक तालिममा सुधार : हाम्रो सिकाइ प्रणाली अहिले पनि परम्परागत ढङ्गले सञ्चालन भइरहेको छ । शिक्षक मात्रै जान्ने हुन् भन्ने खालको परम्परावादी सोचका कारण विद्यार्थीलाई सिकाइमा उत्प्रेरित गर्ने खालको वातावरण नै छैन । पाठ्यक्रममा भएका कुरालाई अन्तक्र्रियात्मक ढङ्गले विद्यार्थीलाई परियोजनाका माध्यमबाट सिकाउन सकियो भने उनीहरूमा सीप विकास हुने आधार तयार हुन्छ । विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्न शिक्षकलाई तालिम दिनुपर्छ । यसमा परियोजना–आधारित सिकाइ, समस्या समाधान, र आलोचनात्मक सोचमा सीप विकास गर्ने विषयलाई समावेश गरिएको हुन्छ । विद्यार्थीलाई हामीले विवेचनात्मक व्याख्या भन्दा पनि परियोजनात्मक ढङ्गले विभिन्न विषय सिकाउनुपर्ने देखिन्छ । त्यसका लागि शिक्षक नै योग्य हुनु आवश्यक हुन्छ ।
स्रोतहरूमा पहुँच बढाउने : नेपालका धेरै विद्यालयमा पाठ्यपुस्तक, कम्प्युटर र वैज्ञानिक उपकरणजस्ता स्रोतमा पहुँच छैन । आज पनि कम्प्युटरको मुख पनि नदेखेर कम्प्युटर शिक्षा पढ्ने विद्यार्थीको सङ्ख्या मनग्य छ । यसका साथै विद्यार्थीलाई व्यावहारिक सीप र ज्ञान प्राप्त गर्नका लागि चाहिने उपकरण र स्रोतको अभावमा केवल किताबी ज्ञान मात्रै विद्यार्थीले लिइरहेका छन् । कतिपय विद्यालयमा स्रोतको व्यवस्थापन भए पनि त्यसलाई प्रयोग र परिचालन गर्न सक्ने जनशक्तिको अभाव नै रहेको छ । यसरी व्यावहारिक ढङ्गले शिक्षा प्रदान गर्नका लागि आवश्यक स्रोत र साधनको व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ । विद्यार्थीलाई फिल्डमा काम गर्न जग्गाको व्यवस्था पनि गर्नुपर्छ ।
उद्योगसँग सहकार्य बढाउने : हामीले विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गरेर मात्रै पनि यसको विकास सम्भव हुँदैन । विद्यार्थीले सिकेको सीपलाई प्रयोग गर्न सक्ने गरी विभिन्न स्थानीय उद्योग तथा उद्यमीसँग सहकार्य बढाउनुपर्ने देखिन्छ । विद्यार्थीले सिकेको कुरा व्यावहारिक रूपमा लागू गर्न पाए भने त्यसले उनीहरूलाई परिपक्व बनाउँदै लैजान्छ । विद्यार्थीलाई व्यावहारिक अनुभव प्राप्त गर्न मद्दत गर्न विद्यालय र उद्योगबीच थप सहकार्यको आवश्यकता छ । यो इन्टर्नसीप, प्रशिक्षक, र अन–द–जब प्रशिक्षण कार्यक्रममार्फत पनि गर्न सकिन्छ ।
उद्यमशिलतालाई प्रोत्साहन : हामीले विद्यार्थीले सानो सानो काम गरेर भए पनि केही पैसा आर्जन गर्न थाल्यो भने प्रोत्साहित गर्नेभन्दा पनि पढेर के यस्तो सामान्य काम गरेको भन्दै हतोत्साहित गर्ने गर्दछौँ । काम सानो नै भए पनि, परिमाण पनि सानो नै भए पनि विद्यार्थीले केही गर्न खोज्छ भने उसलाई अवसर प्रदान गर्नुपर्छ । हामीले उद्यमशिलताको विकास गर्न सक्यौँ भने मात्रै उनीहरूले नेपालमै केही गर्ने सपना देख्न थाल्छन् । सरकारले नै नीतिगत पहल गरेर देशमा उद्यमशिलता संस्कृतिलाई बढावा दिनुपर्ने आवश्यकता देखिन्छ । विद्यार्थीले सीप सिकेकै आधारमा आफूलार्ई उद्यमशिलतातर्फ लैजान सक्ने अवस्था देखिँदैन । सरकारले नै सहुलियत ऋण, अनुदान या अन्य कुनै माध्यमबाट उद्यमशिलता प्रवद्र्धनमा जोड दिनुपर्ने देखिन्छ । उद्यमशिलताबिना व्यावहारिक शिक्षाको महìव नै शून्य हुने गर्छ । यसरी उद्यमशिलताको विकासका लागि हामीले नै विशेष ध्यान दिनुपर्ने अहिलेको आवश्यकता हो ।
एउटा नेपाली युवाले जबसम्म देशमै केही गर्न सक्छु भन्ने आँट देखाउँदैन तबसम्म देश परिवर्तन हुन सक्दैन । हामीकहाँ भएको व्यावहारिक शिक्षालाई हामीले कार्यान्वयनमा ल्याउनका लागि योजना बनाउनुपर्ने हुन्छ । हामीसँग सीप भएर मात्रै हुँदैन त्यसलाई परिचालन गर्नका लागि सरकारले पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परम्परागत शैलीको व्यावहारिक शिक्षाले मात्रै हामीले खोजेजस्तो नतिजा ल्याउन सक्दैन ।
लेखक तुलसीपुर प्राविधिक शिक्षालयका प्रमुख हुनुहुन्छ ।