• १ जेठ २०८२, बुधबार

चुरे तथा वनजङ्गल संरक्षण अभियानद्वारा पाँच सूत्रीय मागसहित पुनः आन्दोलन

blog

चुरे तथा वनजङ्गल संरक्षण अभियानीहरु आन्दोलनमा । तस्बिर: लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ११ गते । चुरे तथा वनजङ्गल संरक्षण अभियानीले आजबाट पुनः आन्दोलन थालेका छन् । पाँचसूत्रीय मागसहित बिहीबार मुख्यमन्त्री कार्यालय घेराउ गर्दै पुनः आन्दोलन थालेका हुन् । 

चुरे र वन संरक्षणको माग गर्दै सयौँको सङ्ख्यामा रहेका आन्दोलनकर्ताहरू जनकपुरधामको मुरली चोकबाट प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेर्न पुगेका थिए । खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनुपर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहीन तथा सुकुम्वासीको आवासको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारसम्बन्धी समस्या हल गर्नुपर्ने लगायतको माग राख्दै पुन आन्दोलन थालेकोको अभियानको राष्ट्रिय संयोजक सुनिलकुमार यादवले भन्नुभयो । उहाँले  पटक–पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर पुनः धर्ना सुरु गरेको बताउनुभयो ।

मागप्रति सङ्घ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले अब आन्दोलन निष्कर्षमा नपुगेसम्म नरोकिने अभियानका संरक्षक सरोज यादवले जानकारी दिनुभयो ।