एकिन्द्र तिमिल्सेना
टीकापुर, चैत २३ गते । सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ ।
सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो । भट्ट बैतडी प्रदेश सभा (ख)बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको हो ।
उक्त मन्त्रालय यसअघि सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले सम्हाल्दै आएको थियो । सो पार्टीबाट नियुक्त मन्त्री विवादमा परेपछि बर्खास्तमा पर्नुभएको थियो । पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिलेपछि प्रतिपक्षमा छ । यसअघि मुख्यमन्त्री, पाँच मन्त्री र तीन राज्यमन्त्री रहेकोमा अब मन्त्रिपरिषदको सङ्ख्या दस पुगेको छ ।
दलको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको सङ्घीय सरकारलाई पनि बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय छ ।
त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ । संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीताकुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहनुभएको छ ।