• २२ वैशाख २०८१, शनिबार

ऊर्जा व्यवस्थापनमा कुशलता

blog

नेपालले धेरै खालका दुःखकष्ट खेप्दै आएको छ । धेरै टाढाको कुरा होइन, केही वर्षअघिसम्म मुलुकले १८ घण्टासम्म विद्युत् कटौती अर्थात् लोडसेडिङको मार खप्नु परेको थियो । विद्युत् उत्पादनमा वृद्धि हुन थाल्यो, विद्युत् आयातसमेत हुन थाल्यो र सबैभन्दा  मुख्य कुरा त प्राधिकरणमा कुशल व्यवस्थापकीय नेतृत्वको प्रवेश भयो । यी पक्षसँगै प्राकृतिक अनुकूलताले पनि साथ दियो । भारतबाट उपयुक्त परिणाममा विद्युत् आयातको सहयोग आफैँमा महत्वपूर्ण पक्ष थियो । यीजस्ता विभिन्न कारणले चार पाँच वर्षयता नेपालीले केही हदसम्म गुणस्तरीय विद्युत् सेवा उपभोग गर्दै आइरहेको यथार्थ हो । त्यसैले पनि केही औद्योगिक क्षेत्रमा बाहेक हिजोआज नेपालमा लोडसेडिङ आमजनताले बिर्सिसकेको अवस्थाजस्तै भएको छ । 

बिर्सिसकेको लोडसेडिङ फेरि आउने त होइन भन्ने आशङ्का बढेको छ । देशका कतिपय भागमा फेरि विद्युत् अभाव हुन थालेको छ । विद्युत् आपूर्तिमा असहजता सिर्जना भएसँगै प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोरमा लाइट लोडअन्तर्गत केही घण्टा विद्युत् कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विशेषतः आन्तरिक उत्पादनमा कमी तथा भारतबाट विद्युत् आयात नियमित एवं भरपर्दो नभएको अवस्थामा लाइट लोडको स्थिति सिर्जना भएको मान्न सकिन्छ । नेपालमा विगत चार पाँच महिनायता वर्षा हुन सकिरहेको छैन । यस हिउँदमा हिउँदे वर्षा पनि भएन । हिउँदे वर्षा बिस्तारै टर्दै गएको छ । फागुनमा पनि तत्कालै वर्षा देखिन सकेको छैन । हिउँदे वर्षा नभएका कारण हिमालमा हिउँ पर्ने र नदी प्रवाहमा सहयोग पुग्न सकेको छैन । हिउँदे बालीनाली उत्पादनमा प्रतिकूल प्रभावको अलग्गै पीडा त छँदै छ । 

हिउँदे वर्षा र हिमपातको ठूलो महत्व हुन्छ । हिमाली भेगमा हिमपात नहुँदा हिउँ नपरेर नदीका प्रवाहमा समेत निकै सुस्तता आएको छ । फलस्वरूप नदीमा पानीको कमीका कारण जलविद्युत् उत्पादनमा समेत कमी भएको छ । परिणामतः नेपालका अधिकांश नदी प्रवाह विद्युत् आयोजनाको क्षमतानुसार विद्युत् उत्पादनमा दबाबमा परेका छन् । यसै कारणले लाइट लोडजस्ता विद्युत् कटौतीका उपाय गरिनु जरुरी देखिएको हो । हाल पूर्वका औद्योगिक क्षेत्रमा गरिएको विद्युत् कटौतीलाई लिएर आमउपभोक्तामा लोडसेडिङको त्रास सिर्जना भएको मान्न सकिन्छ । आउँदा दिनमा वर्षा हुन नसकेर नदीको प्रवाहमा सुधार आउन नसके यो स्थिति नआउला पनि भन्न सकिँदैन । आशा गरौंँ, उपभोक्तामा देखिएको यो त्रासको विद्युत् प्राधिकरणले यथासम्भव समाधान गर्ने नै छ । 

पक्कै पनि विद्युत् कटौती विद्युत् प्राधिकरणको रहरले हुने होइन र त्यो परिस्थितिको बाध्यता हो । सहज विद्युत् आपूर्तिसँगै प्राधिकरणको आम्दानीमा समेत वृद्धि हुन्छ नै । प्राधिकरणले विद्युत् कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा यसलाई व्यवस्थित भने बनाउनु जरुरी छ । प्रदेश १ का औद्योगिक क्षेत्रमा बिनासूचना तथा समय निर्धारण नगरी नै गरिएको लाइट लोडका कारण उद्यमीहरूमा मार परिरहेको यथार्थलाई प्राधिकरणले महसुस गर्नु आवश्यक देखिन्छ । बिनासूचना तथा समय निर्धारणका कारण चलिरहेका औद्योगिक उपकरण बन्द हुँदा मेसिन तथा कच्चा पदार्थमा क्षति पुगेका उद्यमीहरूको भनाइमा प्राधिकरणको ध्यानाकर्षण हुनैपर्छ । यस्तो स्थिति सिर्जना हुन नदिन प्राधिकरणले विद्युत् कटौतीको पूर्वसूचना तथा समयका सम्बन्धमा जानकारी दिनु वाञ्छनीय हुनेछ । 

विगतमा बढ्दो गर्मीसँगै हिमाल उद्गम नदीको अवस्थामा सुधार आउन सक्छ भन्ने आशा हुन्थ्यो तर यो वर्ष त्यस्तो आशा कम छ । हिउँदमा हिउँ नै परेन । बरु वर्षा नभएका कारण नदीमा पानीको कमीका कारण विद्युत् उत्पादनको परिणाम घट्दै जान सक्नेछ । यी तथ्यलाई विचार गर्दा आगामी दिनमा सहज विद्युत् आपूर्तिमा अवरोध सिर्जना हुन सक्ने सम्भावना बढ्दो छ । यी विषयलाई ध्यानमा राखेर विद्युत् प्राधिकरण तथा आमउपभोक्ताले सहकार्य गर्नुपर्ने नै देखिन्छ । विद्युत् चुहावट नियन्त्रण, व्यवस्थापकीय कुशलता, विद्युत् आयात सुनिश्चितता तथा उत्पादनमा जोडजस्ता पक्षमा प्राधिकरणको जोड हुनुपर्ने महत्वपूर्ण हुनेछ । उपभोक्ताले मौसमी प्रतिकूलतालगायतका कारणले सिर्जना भएको वर्तमान विषमतालाई घटाउन अनावश्यक विद्युत् उपभोगलगायतका विषयमा ध्यान दिनु आवश्यक छ । विद्युत् उत्पादनमा कमीका कारण मुलुकभर नै विद्युत् उत्पादनमा कमी आउने सम्भावनासमेतलाई दृष्टिगत गरी ऊर्जा व्यवस्थापनमा प्रभावकारी कुशलता आवश्यक भएको छ ।