नेपालको राजनीतिक इतिहासको युग परिवर्तन गर्ने क्रान्तिमध्ये एक २००७ सालको क्रान्ति पनि हो । उक्त क्रान्तिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नेमध्ये एक रामप्रसाद राई पनि हुनुुहुन्छ । उहाँको नेतृत्वमा भोजपुरको बडाहाकिम कार्यालय कब्जा गरेर सुरु भएको राणा शासनविरुद्धको युद्ध सिंहदबारसम्म आइपुगेको इतिहास छ । राईको नेतृत्वमा रहेका योद्धाहरू एकीकृत भएर तालिम प्राप्त सेना थिएनन् । युद्धमा सहभागी कतिपय तात्कालीन ब्रिटिस भारतीय सेनामा काम गरेका ‘लाहुरे’हरू थिए भने कतिपय आमसर्वसाधारण थिए । तीमध्ये तत्कालीन खोटाङ जिल्ला बुइपा गाविस वडा नंं. ४ (हाल दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१४) का पूर्णबहादुर राई पनि एक हुनुहुन्थ्यो ।
उहाँले मुख्यतः ओखलढुङ्गामा रहेको सरकारी अड्डा आक्रमणमा सहभागिता जनाउनुभएको थियो । ९५ वर्ष पार गरिरहनुभएका पूर्णबहादुरसँग उक्त सङ्घर्षका सम्झनाहरू अझै बाँकी छन् । यद्यपि बुढ्यौलीका कारण कतिपय घटना शृङ्खलाबद्ध रूपमा उहाँ भन्न सक्नुहुन्न । प्रस्तुत छ लडाइँमा सहभागी हुँदाका उहाँको अनुभव उहाँकै शब्दमा :
खै ! अब त त्यो बेलाका धेरै कुरा (घटना) बिर्सन लागियो । अहिले जस्तो समय थिएन । अहिले त के के आयो के के ! २००७ सालमा तीन सरखार (राणा शासन) लखेट्ने भनेर उर्दी जारी भएको थियो । ‘एक घर एक ज्यान हुनुपर्छ नत्र सर्वस्व गरिन्छ रे !’ भन्ने हल्ला भयो । अनि हामी पनि लडाइँमा गइयो ।
भएछ के भने पूर्व ३ नंं. (नेपालको प्रशासनिक विभाजनअनुसार खोटाङ÷भोजपुरलगायतका जिल्लालाई त्यसबेला पूर्व ३ नं. अन्तर्गत राखिएको थियो । अहिले तीन तहमा विभाजन गरिएझैँ सन् १८१६ मा भीमसेन थापा प्रधानमन्त्री भएका बेला नेपाललाई १० वटा जिल्लासहितको प्रशासनिक संरचनामा विभाजित गरिएको थियो । वीरशमशेरका पालमा ३२ वटा बनाइयो । जिल्लालाई पूर्व, पश्चिम, मध्य, मध्यपश्चिम र सुदूरपश्चिम ‘गौँडा’अन्तर्गत राखिएको थियो । तराईलाई ‘तहसिल’ भन्ने छुट्टै ढङ्गको नाम दिइएको थियो । गौँडाअन्तर्गत पूर्व १ नं., पूर्व २ नं., पूर्व ३. नं. जस्ता नाम दिइएको थियो । २०१८ सालसम्म आउँदा यो सङ्ख्या ३५ बनाइएको थियो । २०१८ सालमै राजा महेन्द्रका पालामा जिल्लाको सङ्ख्या ७५ वटा बनाइएको हो । हालका जिल्लाको नामकरण २०१८ सालपछि मात्र भएको हो ।) भोजपुरमा क्याप्टेन रामप्रसाद राईले बडाहाकिम कार्यालय कब्जा गरेर तीन सरकारविरुद्ध लडाइँ सुरु गरे छ । अनि उनीहरू जित्दै जित्दै ओखलढुङ्गा जाने भएछन् र हामीलाई पनि लडाइँमा अनिवार्य सहभागी हुनु भन्ने उर्दी भयो ।
त्यसबेला खेत आफ्नो भन्न नपाइने । कि किपटे ‘राई’को हुने कि बिर्तावालको । हामी बसेको जमिन खार्पाली पोख्रेलको बिर्ता हो । त्यसैले बिर्तावालाले भनेपछि खुरु खुरु मान्नुपर्ने हुन्थ्यो । त्यै जस्तै त होला भनियो र हाम्रो गाउँबाट बच्चेम्पा, अस्टेम्मासहित सबै गुरुरु हामी पनि ओखलढुङ्गाको लडाइँमा गइयो । अब लडाइँमा त जाने बन्दुक छैन । अस्टेको बाबुको एउटा भरुवा बन्दुक थियो । बाँकीलाई लाठी मुङ्ग्री जो पाउँछ लिएर आउनु भनेको थियो । हामी त रित्तै गा’को । खुकुरी भिरेर । अब जान त गैइयो, कहाँ के गर्नुपर्ने केही थाहा छैन । अनि हामी जाँदा रम्भुवा (खोटाङबाट ओखलढ्ङ्गा जाँदा दूधकोसी नदी तर्नुपर्ने घाट)मा मान्छेहरू भेला भइरहेका रै’छन् । यहाँबाट भोलि ओखलढुङ्गा हान्नुपर्ने भन्थ्यो । मिति त मैले बिर्सिएँ । त्यो दिन हामी त्यत्तिकै त्यहीँ बस्यौँ । हामीलाई मुगाधन (युद्धका एक कमान्डर मुगाधन राई)ले यहीँ बसिराख्नु भनेर खै कता हिँड्यो । पछि जन जम्मा गर्न (मान्छे भेला गर्न) सोलु गा’को छ भन्ने सुनियो ।
दुई दिनसम्म त्यहाँ (रम्भुवा) बस्दा पनि केही भएन । अब घरबाट बोकेको खाजा सामल पनि सकियो । रम्भुवाका माझीहरूले खाना पनि दिएन । अनि हामी त भोकै बसिराखेका थियौँ । तेस्रो दिनतिर होला माथिबाट गडडड आयो है रामप्रसाद राईको सेना । यसो हेरेको खाइलाग्दो ज्यान । घोडामा चढेर गडडड आयो । अनि त एकैछिनमा दुईवटा राँगा ढाल्यो । खै ! चामल पनि कताबाट हो तुरुन्तै ल्याइहाल्यो । अनि भक्कुमार खाना खाएर ओखलढुङ्गा हान्न गइयो ।
बाटोमा जाँदै गर्दा लु ! परेवा खाने किरुवाहरू आयो है ! भन्दै क्षेत्रीहरूले कराउन थाले । सायद हामी आउने सुने छ कि क्या हो । हामी पुग्दा त त्यहाँको हाकिम त अघि नै मालसामान (सरकारी कागजात तथा रकम) बोकेर सुइँकुच्चा ठोकिसकेछ । त्यहाँ सिपाहीहरू मात्र थिए । तिनीहरूलाई रामप्रसाद राईले “हतियार फ्याँकेर आत्मसमर्पण गर ! तिमीहरूको ज्यानको सुरक्षा जनमुक्ति सेनाले लिन्छ” भनेर कमान्ड गरे (आत्मसमर्पणका लागि आह्वान गरे) तर किन टेथ्र्यो र ! अनि त लडाइँ भयो है !
पहिले उत्तै (सरकारी पक्ष)बाट नै फायर खोल्यो । अब हामीसँग त धेरै हतियार थिएन । भएकाहरू पनि केही पड्किएनन् । बन्दुक चलाउनेले ड्याङ कि ड्याङ अघि बढेर आक्रमण गरे । त्यसपछि तीन सरखारका सेनाहरू भागिहाले । भाग्दा सबै उनीहरूले ध्वस्त बनाउने रै’छ । अड्डामा आफैँले आगो लगाएर हिँडे । उनीहरू भागेपछि लु घर जाने जानु काठमाडौँ जाने उता हिँड्नु भनियो । हाम्रो गाउँकाहरू पनि एक÷दुई जना उतातिर गए । मलाई चाहिँ जान मन लागेन । हामी घर फर्कियौँ ।
पछि फेरि लडाइँ हुने भो काठमाडौँ आउनु भन्ने उर्दी भएको थियो (यो सम्भवतः रामप्रसाद राई र डा. केआई सिंहको विद्रोहको समयमा) । रामप्रसाद राईले सिंहदरबार कब्जा गरेर राजा भयो रे ! भन्नेसम्म सुनियो ।
(राजेश चाम्लिङ राईसँग गरिएको कुराकानीमा आधारित)