• ८ मंसिर २०८१, शनिबार

तीन हजार साधुसहित भारत, श्रीलंका, मलेसियाबाट दर्शनार्थी

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको चहलपहल

blog

महाशिवरात्रीको अघिल्लो दिन साँझ सझिएको पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिर : सुजन गुरुङ

तस्बिर : सुजन गुरुङ 

काठमाडौं, फागुन ५ गते। हरेक वर्ष महाशिवरात्रि पर्वमा देशैभरका शिव मन्दिरमा श्रद्धालुको भीड लाग्ने गर्दछ। हिन्दु धर्मग्रन्थ अनुसार देवको पनि देव अर्थात् भगवान् महादेवको पूजाअर्चना गरेर शिवरात्रि विशेष ढङ्गले मनाउने परम्परा रहेको छ। यस पर्वमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा पनि आकर्षकको केन्द्र बन्ने गरेको छ। 

महाशिवरात्रिमा नेपालभरका साधु, सन्त एवम् भक्तजनदेखि छिमेकी मुलुक भारत, श्रीलङ्का, इण्डोनेसिया, मलेसिया लगायतका देशबाट पनि पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी जानकारी दिनुभयो। 

अधिकारी भन्नुहुन्छ, “मुख्यगरी, साधु–सन्त छिमेकी मुलुक भारतबाट आउनुहुन्छ। भारतलाई कर्मथलो, साधनाथलो बनाएर शिक्षादीक्षा लिएर फेरि पनि नेपालका कुना, कन्धरा, मठमन्दिरमा रहेका साधु पशुपति आउनुहुन्छ। हिन्दु धर्मसँग, भगवान् पशुपतिनाथसँग आस्था राख्नेहरू जीवनमा एकचोटी यही महाशिवरात्रिको पावन अवसर पारेर भारत, इण्डोनेसिया, श्रीलङ्का, मलेसियालगायतका देशबाट पनि आउनुहुन्छ।” यो पटक करिब तीन हजारको सङ्ख्यामा साधु, सन्त पशुपतिमा आइपुग्नुभएको उहाँको भनाइ छ। 


यो पटक स्वामी शंकाराचार्य जगत्गुरु मुख्य आकर्षक व्यक्तित्वको रुपमा रहेकाले पनि दर्शनार्थी एवम् यस क्षेत्रका अध्येता र बौद्विक व्यक्तित्वको जमात् बढ्ने अनुमान उहाँको छ। “पहिलो पटक हो, यस पटकको मुख्य आकर्षक व्यक्तित्व शंकाराचार्य नै हुनुहुन्छ। उहाँको आज पहिलो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ। भोलि पशुपतिनाथको दर्शन, भूकम्पबाट क्षति भएको शंकाराचार्यको मन्दिर अनावरण र थोरै वैदिक प्रवचन रहेको छ”, उहाँले भन्नुभयो। पर्सी फागुन ७ गते प्रवचनसहित पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारकातर्फबाट पनि अभिनन्दन गरेर बिदाइको कार्यक्रम रहेको उहाँले बताउनुभयो।

प्रत्येक महाशिवरात्री पर्वमा दशौं लाखौंको सङ्ख्यामा दर्शनार्थी पशुपतिको दर्शन गर्न आउने हुँदा यो पटक यो सङ्ख्या थप बढ्नसक्ने अधिकारी उहाँको भनाइ छ। यसका लागि करिब चारदेखि पाँच हजारको हाराहारीमा स्वयम्सेवक रहनुहुने जानकारी दिनुभयो। 



उहाँले डाक्टर, नर्स जस्ता प्राविधिक तथा प्रशासनिक क्षेत्रसहित गरेर करिब १५ हजार स्वयम् सेवक रहनुहुने उहाँको भनाइ छ। यस्ता स्वयम्सेवक कोही आवेदनमार्फत त, कोही स्वस्फूर्तरुपमा आउनेछन्। “शंकाराचार्य स्वामीको आगमनले साधु, सन्तको आगमन बढेको छ। गत वर्ष १० देखि १२ लाख दर्शनार्थी सहभागी हुनुहुन्थ्यो। यसपटक १२, १५ लाखदेखि २० औं लाख दर्शनार्थी सहभागी हुनसक्नुहुन्छ,” उहाँले भन्नुभयो।

महाशिवरात्री पर्व सफलतापूर्वक सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषका अध्यक्ष रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री तथा सुदन किरातीको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठनमार्फत व्यवस्थापन कार्य अगाडि बढेर बढेको छ। 

पशुपतिनाथ मन्दिर क्षेत्रमा सरसफाइ, रंगरोगन, बत्ती र फूलको सजावट बेलुका राति अबेरसम्म हुनेछ। साधु, सन्त मन्दिर प्रवेश गरिसक्नुभएको अवस्थामा दाउराको व्यवस्थापन, स्वास्थ्य शिविर, लाइन, जुत्ता, चप्पल राखेर दर्शन गर्ने व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो। 

मन्दिरमा देश तथा विदेशबाट लाखौंको सङ्ख्यामा भक्तजन आउनुहुने हुँदा आफ्नो स्वास्थ्य लगायत सुरक्षाको सबैभन्दा आफूले ख्याल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। गोरखापत्र अनलाइनका लागि सपना थामी केशव गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।