• ८ मंसिर २०८१, शनिबार

करिब ८५ लाख मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

blog

काठमाडौं, फागुन ५ गते । सरकारले फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन कार्यक्रम सुरु गर्ने भएको छ  । 

स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गर्ने लागेको जानकारी दिनुभयो । 

सरकारले गत वर्ष सर्वेक्षण गर्दा रसुवामा हात्तीपाइले रोगको समस्या देखिएकाले यस वर्षदेखि रसुवासहित  १५ जिल्लामा  यो औषधि  सेवन सञ्चालन गर्न लागेको हो । 

डा. दाहालका अनुसार यो वर्ष झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य छ । 

सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा 

समस्या जीवित रहेको छ । साथै हरेक दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लामा रोगको दर अपेक्षिकृत रुपमा नघटेकाले यी जिल्लामा पटक पटक औषधि खुवाउन परेको जनस्वास्थ्यविद् रामकुमार महत्तोको भनाइ छ । 

महत्तोले यो औषधि सुरक्षित भएकाले ढुक्कासँग खाना आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “रोग लागिसकेकालाई रोगबाट बचाउनका साथै रोग लाग्नबाट बचाउने हुँदा प्रभावित जिल्लाका सबैजनालाई आम औषधि सेवन गर्न आग्रह छ ।” 

हात्तीपाइले रोगका लक्षणहरु नदेखिए पनि रोगका परजीवीहरु शरीरमा हुनसक्छन्, यो समस्या भएकाले औषधि खानासाथ रोगका परजीवीहरु मर्ने र भविष्यमा रोग लाग्न नदिने महत्तोको भनाइ छ । 

महत्तोका अनुसार औषधि सेवन कारण शरीरमा भएका हात्तीपाइलेका परजीवीहरु अरु स्वास्थ्य मानिसको शरीरमा सर्दैनन् । समुदायमा केही व्यक्तिमा रोगका परजीवीहरु छन् र औषधि सेवन गरेमा लामखुट्टेले टोके पनि शरीरमा ती परजीवीहरु सर्न सक्दैनन् । 

औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा ओछ्यान परेका सिकिस्त बिरामी, मिर्गौला रोगका लागि डायलासिसजस्ता जीवनभर चिकित्सकको निगरानीमा बसेका मानिसलाई औषधि नखान महत्तोको सुझाव छ । औषधि खाली पेटमा नखान चिकित्सकको सुझाव छ । 

शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरु यो औषधि सेवान गरेपछि सामान्य टाउको दुने, वाकवाकी लाग्ने तथा पेट दुख्ने, भएमा औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझ्नु पर्ने महत्तो बताउनुहुन्छ । 

यस्ता लक्षण केही घण्टामा आफैँ हराएर जान्छन् ।  यदि लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा सल्लाह गर्न महत्तोको सुझाव छ । 

हात्तीपाइले रोग भनेको के हो ?

महत्तोका अनुसार हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो र यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारणभन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकाले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

हात्तीपाइले रोग भएको मानिसलाई लामखुट्टेले टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारीदिने महत्तो बताउनुहुन्छ । 

लक्षण 

रोगको परजीवी मानिसको शरीरभित्र भए तापनि हात्तीपाइले रोगको कुनै लक्षण देखिंदैन । लामो समयपछि एक वर्ष वा त्यो भन्दा बढी समयपछि ज्वरो आउनु, जाडो लाग्नु, शरीरमा विभिन्न भागमा गिर्खा आउनु, दुख्नु, हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु, महिलालाई यो रोग लागेको भए स्तन फुलेर ठूलो हुनु, पुरुषहरुलाई यो रोग लागेको भए अण्डकोष ठूलो हुन वा हाइड्रोसिल हुनु, बिरामीका यौन अंगहरू सुन्निनु, रोग पुरानो हुँदै गएमा गोडा फुलेर हात्तीको जस्तो ठूलो हुनु, बिरामीको पिसाब सेतो रंग वा दही जस्तो हुनु यो रोगका प्रमुख लक्षण हुन् । 

नेपालमा हात्तीपाइले रोगका कारण ३२ हजार मानिसको हातखुट्टा सुनिने, हाइड्रोसिल, अपङ्गता भएको इसिसिडीको तथ्यांक छ । 

सरकारले २००३ तीन सालबाट हात्तीपाइले रोग निवारणका लागि अभियान चलाउँदै आएको छ । सरकारले २०३० सम्म हात्तीपाइले रोग नेपालमा जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्य लिएरको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।