• १३ साउन २०८१, आइतबार

घटेर आयो इन्धनको मूल्य

blog

काठमाडौँ, फागुन ५ गते । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ । 

आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रुपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।  

यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन÷तीन रुपियाँ मूल्य बढाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । सोहीअनुसार आईओसीले नयाँ मूल्य निगमलाई पठाएको हो ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राखिने निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य पठाउने गर्छ । तेल खरिद गरेबापत आईओसीलाई ११ अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूल्य घटाउन नसकिएको निगम भनाइ छ ।