• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमको गौरव

blog

विकासका दृष्टिकोणबाट सुदूरपश्चिम प्रदेशलाई तुलनात्मक रूपमा पिछडिएको मानिन्छ । प्राकृतिक स्रोत, साधन प्रचुर हुँदाहुँदै पनि उपयोग हुन सकेको छैन । खासमा भौतिक पूर्वाधार, भौगोलिक संरचना अनुकूल हुँदाहुँदै पनि सुदूरपश्चिमले तुलनात्मक रूपमा विकासमा फड्को मार्न नसकिरहेको तीतो यथार्थ हो । देशका सबै प्रदेश तथा क्षेत्रलाई विकासको मूल आधारमा अग्रसर बनाएर सन्तुलित विकासमा जोड दिनु सङ्घीय सरकारको मुख्य कर्तव्य हुन आउँछ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणजस्ता गतिविधिले कुनै पनि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेमा कुनै शङ्का छैन । यस तथ्यलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा मेडिकल कलेज र कञ्चनपुरको दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणले यस क्षेत्रको विकास प्रयासमा निकै महत्त्वपूर्ण योगदान पु¥याउन सक्नेछ । अझ भनौँ, तिनले सुदूरपश्चिमका गौरवलाई संस्थागत गर्नेछन् । 


 कतिपय पूर्वाधार विकास प्रमुख आधारशीला बन्ने गर्छन् । सुदूरपश्चिम प्रदेश, प्रदेशका यी आयोजनाका कारण आर्थिक तथा सामाजिक विकासमा दूरगामी प्रभाव पार्नेमा विश्वस्त हुने आधार थुप्रै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार निरीक्षणका क्रममा यी दुई आयोजनालाई मुलुककै गौरवका आयोजनाका रूपमा उल्लेख गर्नुभएबाट नयाँ आशा सञ्चारित भएको छ । यी दुई आयोजनाले समग्रमा मुलुकको अर्थतन्त्र तथा चिकित्सा क्षेत्रमा पार्ने प्रभाव निकै उपलब्धिपूर्ण हुन सक्ने छ । भूपरिवेष्टित मुलुक भएका कारण समुद्रसम्म पहुँच नभएको पीडा नेपालीलाई यथार्थपरक रूपमा बढी जानकारी छ । यसैको विकल्प स्वरूप सुक्खा बन्दरगाह निर्माणबाट धेरथोर मात्रामा भए पनि अन्तर्राष्ट्रिय व्यापारका निम्ति मालसामान ढुवानीमा निकै सहजता हुने गर्छ । यही प्रकृतिको सुक्खा बन्दरगाह नेपाल भारत सीमा क्षेत्र चाँदनी दोधारामा निर्माण हुने क्रममा छ ।


 सम्भवतः प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणताका सम्बन्धमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ र तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरिनेछ । नेपालको सुदूरपश्चिमी नाकामा निर्माण हुने यो सुक्खा बन्दरगाहबाट मुलुकको वैदेशिक व्यापारमा निकै सहजता हुने मात्र होइन, यसलाई नेपाल, भारत तथा चीनबीच त्रिदेशीय व्यापार केन्द्रका रूपमा विकसित गराउन सकिने सम्भावना पनि त्यत्तिकै छ । सुक्खा बन्दरगाहसम्बन्धी वातावरणीय मूल्याङ्कनको काम पनि सम्पन्न भइसकेको अवस्थामा यो बन्दरगाह निर्माण हुनेमा कुनै शङ्का पनि छैन । सुक्खा बन्दरगाह निर्माणसँगै सुदूरपश्चिमलगायत समग्रमा देशकै विकासमा योगदान पुग्ने प्रधानमन्त्रीको टिप्पणी मननीय छ । सुक्खा बन्दरगाह निर्माणसँगै सुदूरपश्चिममा गेटा मेडिकल कलेजको निर्माण कार्य अगाडि बढिरहेको छ । यसलाई मुलुककै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा शहीद दशरथ चन्दको नाम सञ्चालन गर्ने प्रधानमन्त्री प्रचण्डको उद्घोषले सुदूरपश्चिमवासीमा पक्कै पनि उत्साह सिर्जना गरेको हुनुपर्छ । 


नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना तथा त्यही क्षेत्रका राष्ट्रिय शहीद दशरथ चन्दका नाममा सञ्चालन योजना हुनु सुदूरपश्चिमका निम्ति गौरवको विषय हो । यथाशीघ्र मेडिकल कलेज निर्माण सम्पन्न गराएर सुदूरपश्चिमवासी तथा समग्रमा सबै नेपालीलाई चिकित्सकीय सुविधा तथा अध्ययनको अवसर उपलब्ध गराउन अब ढिलाइ गर्नु हुँदैन । कलेजको निर्माणमा कुनै बजेट अभावका विषय अगाडि आउन नदिनु पनि सम्बद्ध पक्षको दायित्व हो । अझैसम्म सुदूरपश्चिम प्रदेशमा चिकित्सा क्षेत्रको विकासमा भरपर्दा संरचना निर्माण हुन नसकिरहेका बेला चिकित्सा क्षेत्रको उच्च अध्ययनको संस्थागत विकास आफैँमा महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।


हिमाल, पहाड तथा तराईसहितको भौगोलिक संरचनाले बनेको सुदूरपश्चिममा औद्योगिक, पर्यटकीय, भौतिक, शिक्षा, स्वास्थ्य, कृषिलगायतका सबै किसिमका विकासका आधार विद्यमान रहेको पाइन्छ । यी उपलब्ध आधारहरूको समुचित उपयोग गरेर यो प्रदेशका साथै मुलुकको विकासमा योगदानको वातावरण बनाइनु अहिलेको महत्त्वपूर्ण विषय हो । अझै पनि यस क्षेत्रमा पर्यटन, कृषि, भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा निकै धेरै कार्य गर्न बाँकी नै छ । यी सबैको समुचित विकास नगरेसम्म विकासको मूल प्रवाहमा यो क्षेत्र समाहित हुन नसक्ने यथार्थ हो । यसका निम्ति सङ्घीय, प्रदेश तथा स्थानीय सरकारबीचको सहकार्य तथा समन्वयले निकै महत्त्वपूर्ण भूमिका खेल्नेमा कुनै शङ्का छैन । सङ्घीयताको मूल मर्म नै देशको समानुपातिक र सर्वाङ्गीण विकास हो । सुक्खा बन्दरगाहले यस क्षेत्रको औद्योगिक तथा व्यापारिक विकासमा योगदान पु-याउने छ । पछाडि परेको प्रदेशको सर्वाङ्गीण विकासमा नयाँ आयाम थपिने विश्वास गर्न सकिन्छ ।