• ८ कात्तिक २०८१, बिहिबार

प्रधानमन्त्री मोदीका आश्वासन कार्यान्वयन गर्न पूर्व गृहमन्त्री खाणको आग्रह

blog

पूर्व गृहमन्त्री बालकृष्ण खाण (दायाँ) सँग भारतीय विदेश सचिव विनयमोहन क्वात्रा भेटवार्ता गर्नुहुँदै ।

काठमाडौँ, फागुन २ गते । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ । 

काठमाडौँमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ । 

पूर्व गृहमन्त्री खाणले विदेश सचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराउनु भएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताउनु भएको थियो ।

त्यस्तै, पूर्व गृहमन्त्री खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्न वातावरण निर्माण गर्ने विषयमा क्वात्रासँग छलफल गर्नुभएको छ । 

त्यस्तै, थप हवाई रुट दिन पहल गरिदिन पनि आग्रह गर्दै पूर्व मन्त्री खाणले भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिनुभएको स्मरण गराउनु भयो । 

पूर्व मन्त्री खाणले त्यसबारे पुनः प्रधानमन्त्री मोदीलाई सम्झाउन र पहल गर्न विदेश सचिव  क्वात्रासँग आग्रह गर्नुभयो ।