• १३ साउन २०८१, आइतबार

प्रधानसम्पादक भट्टराईलाई सम्मानित गरिने

blog

काठमाडौँ, माघ २७ गते । कर्ण कौशल्या–सीता स्मृति  प्रतिष्ठानले भोग्य–सगुन शाह राष्ट्रिय पत्रकारिता पुरस्कार गोरखापत्र राष्ट्रिय दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको बुधबार बसेको बैठकले पत्रकारिताको माध्यमबाट समाजसेवामा विशेष योगदान पु-याउनुभएबापत प्रधानसम्पादक भट्टराईलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेले जानकारी दिनुभयो।

यसैगरी प्रतिष्ठानले सीता राणा स्मृति पुरस्कार दाङका सहित्यकार डा. कृष्णराज जीसी तथा कर्ण, कौशल्या तथा सीता प्रतिभा पुरस्कार विशिष्ट स्वास्थ्यसेवी एकनाथ तिमल्सिनालाई प्रदान गर्ने निर्णय गरेको छ। नेपालका १२औँ प्रधानमन्त्री देवशमशेर जङ्गबहादुर राणाका नाति स्वर्गीय कर्णशमशेर तथा पत्नीद्वय सीता र कौशल्याको सम्झनामा कर्ण कौशल्या–सीता स्मृति प्रतिष्ठान स्थापना भएको थियो। प्रतिष्ठानले समाजसेवी स्वर्गीय भोग्य शाह र सगुन शाहको नाममा एक दशकपहिले भोग्य–सगुन शाह राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको थियो।

पत्रकारिताको माध्यमबाट समाजसेवा पु-याउने व्यक्तिलाई प्रतिष्ठानले पुरस्कारसहित सम्मान गर्दै आएको छ। देवशमशेरलाई देश र जनताको हित चिताउने सुधारवादी राणा प्रधानमन्त्रीका रूपमा चिनिने गरिन्छ। प्रशासनिक सुधार, कर्मचारीलाई सुविधा प्रदानका साथै सरकारी कर्मचारीका लागि बिहान १० देखि बेलुकी पाँच बजेसम्म कार्यतालिकासमेत देवशमशेरले नै तोक्नुभएको थियो।

मुलुकको विकासका लागि कृषि, पशुपालन र घरेलु उद्योग विकास गर्न जापानी प्रविधि अनुकरण प्रेरित गर्नुहुने देवशमशेरले आधारभूत शिक्षाका लागि देशभर ५० भन्दा बढी नेपाली भाषा पाठशाला स्थापना गर्नुभएको थियो।