• २१ चैत २०८२, शनिबार

अज्ञात वन्यजन्तुले चौपाय खाइदिएपछि त्रास, बाघ रहेको आशङ्का

blog

ईश्वरपुर नगरपालिका १२ को चुरेवर्ती क्षेत्र । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत २१ गते ।
सर्लाहीको उत्तरपूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका वडा नं. १२ का चुरेबस्तीमा अज्ञात वन्यजन्तुले जङ्गल चर्न गएका चौपाय मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

पहिचान हुन नसकेको वन्यजन्तुले जङ्गलभित्र दुईवटा गोरु र केही बाख्रा खाइदिएको ईश्वरपुर १२ शीर फूलजोरका दिनेश बम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार चौपाय फर्किएर गोठमा नआएपछि जङ्गलमा खोजी गर्न जाँदा वन्यजन्तुले मासु लुछेर खाएको अवस्थामा मृत फेला पारिएको हो ।

आफूहरुले प्रत्यक्ष नै देख्दा गाइवस्तु र बाख्रापाठा खाने वन्यजन्तुको शरीरमा पाटैपाटा रहेको बम्जनको भनाइ छ । स्थानीयले उक्त जनाबर पाटे बाघ रहेको आशङ्का गरे पनि पुष्टी भने हुन सकेको छैन ।

पशुचौपाय मार्ने वन्यन्जतु देखा परेको ठाउँ सिन्धुलीको मरिण र महोत्तरीको खयरमारास्थित छोड्केसँग सीमा जोडिएको क्षेत्रमा पर्छ । सर्लाहीतर्फ पशुचौपाय खाएर दुःख दिएको उक्त वन्यजन्तु तीन दिनअघि बाँके खोला तरेर बर्दिवास नगरपालिका ११ छोड्केतर्फ लागेको शीर फूलजोरका स्थानीय बम्जनले बताउनुभएको छ ।

अघिल्लो वर्ष पनि सर्लाही र महोत्तरीको चुरेवर्ती क्षेत्रमा बाघ जस्तै देखिएको वन्यजन्तुले जङ्गल चराउन लगिएको बाख्रा खाइदिएको थियो । बर्दिवास नगरपालिका ११ खयरमाराका वडाध्यक्ष पूर्णबहादुर बलले आफ्नो वडातर्फ पनि अघिल्लो वर्ष चुरेपाखाका बस्तीहरुमा बाघ जस्तो देखिने जङ्गली जनावर आएर केही बाख्रा मारेको भए पनि यो वर्ष त्यस्तो सूचना नआएको बताउनुभयो ।

चुरे खोँचमा पर्ने ईश्वरपुर १२ र बर्दिवास ११ का बस्तीहरु भौगोलिक हिसाबले अत्यन्त विकट रहेका छन् । पछिल्लो समय सर्लाहीको चुरेवर्ती क्षेत्रमा विभिन्न हिंस्रक र अन्य लोपोन्मुख वन्यजन्तु फेला पर्न थालेका छन् ।

गत वर्ष लालबन्दी नगरपालिका–१३, कर्मडण्डीमा भालुको आक्रमणबाट एक जना घाइते भएका थिए । त्यस क्षेत्रमा अहिले पनि बेलाबेलामा भालु देखा पर्ने गरेको स्थानीयले बताएका छन् ।

एक महिनाअघि चुरेवर्ती क्षेत्रको लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित माइस्थानखोलामा कुकुरले लखेट्दै गरेको अवस्थामा स्थानीयले एउटा रतुवा मृगको उद्धार गरेर प्रहरीमा बुझाएका थिए । उक्त मृग डिभिजन वन कार्यालयमा ल्याउँदा मरेको थियो । 
वन्यजन्तुका कारण चुरेवर्ती क्षेत्रका स्थानीयलाई आउजाउ गर्न पनि जोखिम भएको छ । चुरेपाखा तथा वनजङ्गलमा मानिसको हस्तक्षेप र आवागमन बढ्दा वन्यजन्तु सङ्कटमा पर्दै गएका छन् ।