सार्कको सदस्य मुलुक पाकिस्तान राजनीतिक अस्थिरता र आतङ्कवादी हिंसाका कारण बारम्बार चर्चामा आइरहन्छ । त्यहाँको लोकतन्त्र बलियो छैन । राजनीतिक अस्थिरताले निर्वाचित लोकतान्त्रिक सरकार कमजोर बन्दा सेनाको मनोबल बढ्छ र सैन्य नेतृत्वले सत्ता लिने गर्छ । लोकतान्त्रिक सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिने त्यस्तै एक जना पूर्वशासक थिए, परवेज मुसर्रफ । सत्ता हातमा लिएपछि यो कदम उनका लागि अभिशाप बन्यो । उनलाई पटक–पटक मार्ने षड्यन्त्र भयो । त्यसबाट बचेका मुसर्रफलाई अदालतले देशद्रोही ठह¥याएर मृत्युदण्डको सजाय सुनायो । मृत्युदण्डको सजायबाट बच्न उनी निर्वासनमा गए । अन्ततः निर्वासनमै उनको मृत्यु भयो ।
प्रवासमा उनी लामो समयदेखि बिरामी परे । गत वर्ष सामाजिक सञ्जालमा उनको मृत्यु भएको अफवाह फैलियो । त्यसलाई खण्डन गर्दै मुसर्रफको स्वास्थ्यबारे उनको परिवारले जानकारी दिएको थियो । गत वर्षदेखि नै उनको स्वास्थ्य अवस्था थप गम्भीर थियो । शरीरका विभिन्न अङ्गले काम गर्न छाडेकाले उनको स्वास्थ्यमा सुधार आउन गाह्रो भएको थियो । उनले संयुक्त अरब इमिरेट्सको दुबईमा उपचार गराइरहेका थिए । उनलाई एमाइलोइडोसिस नामक जटिल रोग लागेको थियो जसका कारण मानव शरीरका अङ्गहरू निष्क्रिय भई काम गर्न छाड्छन् ।
मुसर्रफ सन् २०१६ देखि गम्भीर बिरामी भए । उनले दुबईमा बसी उपचार गराउँदै आएका थिए । उनको जीवनको अन्तिम दुई दशक उतार–चढावमै बित्यो ।
मुसर्रफ सेना प्रमुख हुँदा सन् १९९९ मा निर्वाचित सरकारलाई अपदस्थ गरी सत्तामा आएका हुन् । त्यतिबेला पाकिस्तान पश्चिमी देश र इस्लामिक अतिवादीबीचको द्वन्द्वमा फसेको थियो । त्यही भएर उनलाई सत्ता चलाउन गाह्रो भयो । उनले सैनिक सत्तालाई नागरिक सत्तामा रूपान्तरण गर्न भनी पार्टी खोले । उनको पार्टीले सन् २००८ को चुनाव जित्न सकेन । चुनाव हारेपछि उनीमाथि कारबाहीको दबाब बढ्यो । उनलाई गैरकानुनी रूपमा देशको संविधान निलम्बन गरेको र सङ्कटकाल लगाएको आरोप लगाइयो । उनीविरुद्धको मुद्दामा लामो समयपछि अदालतले कठोर फैसला सुनायो । उनलाई देशद्रोही भन्दै मृत्युदण्ड दिने फैसला गरेपछि उनी निकै तनावमा परे । उनी स्वदेश फर्कने अवस्था रहेन ।
मुसर्रफको जन्म सन् १९४३ को अगस्ट ११ मा दिल्लीको एक उर्दु भाषी परिवारमा भएको थियो । सन् १९४७ मा भारतको विभाजन भएपछि उनका अभिभावक पाकिस्तानमा बसाइँ सरेका थिए । उनी सन् १९६१ मा सैनिक सेवामा प्रवेश गरेका थिए ।
मुसर्रफ सन् १९९८ मा नवाज सरिफको सरकारमा सेना प्रमुख बने । सेना प्रमुख बनेपछि उनी सत्तामोहमा लोभिए । अर्को वर्ष उनले सरिफको निर्वाचित सरकारलाई ‘कु’ गरी चलाखीपूर्वक शासनसत्ता हातमा लिए । पाकिस्तानको बिग्रँदै गएको आर्थिक अवस्था तथा भारतसँगको द्वन्द्वले सरिफ सरकार अलोकप्रिय बनेका बेला आफू सफल हुने उनको विश्वास थियो ।
उनलाई सत्ता टिकाउन छिमेकी तथा मित्र राष्ट्रहरूको सहयोग अपरिहार्य थियो । उनी बाह्य सहयोग जुटाउन असफल भए भने आतङ्वादी समस्या बढेर गयो । अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा अकल्पनीय आतङ्कवादी आक्रमण भयो । अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदाका प्रमुख ओसमा विन लादेनले आक्रमणको जिम्मा लिए । अफगानिस्तानमा सत्ता हातमा लिएको तालिबान विद्रोहीले अलकायदालाई संरक्षण दिएकाले दुवैविरुद्ध अमेरिका रुष्ट थियो । अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले ‘आतङ्कवादविरुद्धको युद्ध’ घोषणा गर्नुभयो । उहाँले यस युद्धमा पाकिस्तानसँग सहयोग माग्नुभयो । पाकिस्तानी सेनाको सम्बन्ध तालिबान र अलकायदासँग रहेको आरोप लाग्दै आएको थियो । यस्तो अवस्थामा आतङ्कवादविरुद्धको युद्धमा अमेरिकालाई सहयोग गर्नु भनेको पाकिस्तानी सैनिक सत्ता अलकायदा र तालिबानविरुद्ध लड्नु थियो । मुसर्रफ तालिबान र अलकायदाविरुद्ध जाइलाग्न पनि सकेनन् । अमेरिकासितको सम्बन्धमा सन्तुलन मिलाउन र पाकिस्तानमा अमेरिकाविरोधी गतिविधि अन्त्य गर्न पनि असफल रहे ।
अमेरिकाले सुरु गरेको आतङ्वादविरुद्धको युद्धमा अफगानिस्तानको तालिबान सत्ता पहिलो निसाना बन्यो । तालिबानको सत्ता पतन हुनुले मुसर्रफमाथि दबाब बढ्यो । सन् २०११ मा पाकिस्तानी सैन्य एकेडेमीनजिक बस्दै आएका अलकायदा प्रमुख लादेनलाई फेला पारी अमेरिकाले मारेपछि त उनीमाथि थप औँला ठडियो । मुसर्रफले लादेनका बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए ।
मुसर्रफका लागि अन्तर्राष्ट्रिय अवस्था पनि आफू अनुकूल भएन भने देशको आन्तरिक सन्तुलन पनि मिलेन । सत्ता हातमा लिएको दुई वर्षपछि राष्ट्रपतिमा आसिन उनले मुलुकलाई सही गति दिन सकेनन् ।
सन् २००७ मा आतङ्कवादी आक्रमण गरी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भयो । भुट्टोलाई पर्याप्त सुरक्षा दिन नसकेको आरोप उनीमाथि लाग्यो । सोही वर्ष उनले प्रधानन्यायाधीश इफ्तिकार मोहम्मद चौधरीलाई बर्खास्त गरे । सो कदमको देशव्यापी रूपमा हिंसात्मक विरोध प्रदर्शन भयो । यस घटनामा एक सयभन्दा बढीको ज्यान गयो । त्यस्तै लाल मस्जिद काण्डले उनलाई थप सङ्कटमा पा¥यो । यी विविध कारणले उनको पार्टी सन् २००८ को चुनावमा पराजित भयो । चुनाव हारेपछि उनीमाथि कारबाहीको दबाब बढ्यो । उनले राजीनामा दिई निर्वासनमा गए । उनी पुनः शक्तिमा फर्कने प्रयास गरे । सन् २०१३ को मार्चमा उनी चुनाव लड्न भन्दै नाटकीय रूपमा पाकिस्तान फर्किए तर त्यसबेला उनी पक्राउ परे ।
उनीमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लाग्यो । उनको दल अल पाकिस्तान मुस्लिम लिग पुनः पराजित भयो । त्यसलगत्तै उनीविरुद्ध देशद्रोहलगायतका विभिन्न मुद्दा लगाइयो । उनीविरुद्धका मुद्दा हेर्न सरकारले विशेष अदालत गठन ग-यो । मुद्दा पाँच वर्ष चल्यो र अन्ततः तीन जना न्यायाधीशहरूले एउटा फैसलामा उनलाई राजद्रोहमा दोषी ठह¥याए । उनलाई मृत्युदण्डको फैसला सुनाइयो ।
उनी मुद्दा चलिरहेकै बेला गम्भीर बिरामी परे । उपचारका लागि दुबई जान सरकारले अनुमति दियो । उनी लामो समय बिरामी परेकाले स्वदेश फर्कने अवस्था बनेन । जसले गर्दा उनीमाथिको मृत्युदण्डको फैसला कार्यान्वयन हुन पाएन । ७९ वर्षीय उनको यही फेबु्रअरी ५ मा दुबईमा मृत्यु भयो ।
मुसर्रफ चतुर शासक भए पनि समय र परिस्थिति उनको अनुकूल भएन । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन सकेनन् । भारतसँग भएको युद्धमा पाकिस्तानी सेनाको कमजोरी देखियो । यस मामिलामा तत्कालीन प्रधानमन्त्री सरिफले मुसर्रफलाई हटाउन खोजेका थिए तर चतुर उनले बिनारक्तपात सरिफलाई नै अपदस्थ गरी सत्ता हातमा लिए । सरिफ निर्वासनमा गए । मुलुकको शासनसत्ता हातमा आएपछि मुसर्रफका हरेक कदम असफल भए । उनले कतैबाट पनि सहयोग र समर्थन पाएनन् । सन् २००८ को आमनिर्वाचनका लागि सरिफ निर्वासनबाट फर्केपछि त उनलाई झन् असहज परिस्थिति बन्यो ।
सन् १९४७ मा बेलायतबाट भारत स्वतन्त्र भएसँगै पाकिस्तान अलग देश बन्यो । भारतमा लोकतन्त्र संस्थागत बन्दै गयो भने पाकिस्तानमा कमजोर रह्यो । त्यहाँ पटक–पटक सेनाले सत्ता हातमा लियो । सन् १९७१ मा पाकिस्तान टुक्रिएर बङ्गलादेश बन्यो । भारतसँग तीन पटक युद्ध भयो । युुद्धले पाकिस्तानलाई झन् कमजोर बनायो । राजनीतिक अस्थिरता त्यहाँको विशेषतानै बन्यो । अस्थिरतामै मुसर्रफजस्ता सैनिक शासकको उदय भयो जसले मुलुकलाई झन् सङ्कटमा पु¥याए । लोकतन्त्र, सुशासन र शान्तिका लागि निर्वाचित सरकारको निरन्तरता अपरिहार्य हुन्छ । सैनिक शासनले लोकतन्त्रलाई कहीँ कतै बलियो बनाएको छैन ।