• ९ मंसिर २०८१, आइतबार

शिक्षामा सङ्घीयता

blog

विद्यालय तहको सिकाइ उपलब्धि सापेक्ष रूपमा सहज देखिए पनि ज्ञान, सीप र वृत्तिविकासका दृष्टिकोणले पछि नै परेको देखिन्छ । सिकाइको गुण र क्षमतामा ह्रास आउँदै गएको छ । शिक्षाका नीति निर्माता, राजनीतिज्ञ, शिक्षक अभिभावक, विद्यार्थी र आमनागरिकको शिक्षाप्रतिको गहिरो चिन्ता भएर पनि परिणाम आउन नसक्नु दुःखद हो । सबै राजनीतिक दलका घोषणापत्रमा पनि स्तरीय सिकाइ उपलब्धिका लागि गुणस्तरीय नाराको अत्यधिक प्रयोग भएको पाइन्छ । यस्ता नारामा गुणस्तरीय शिक्षाको नीति, योजना र कार्यक्रम निर्माणबारे खासै चिन्तन र चासो गरिएको पाइँदैन । शिक्षाको समग्र गुणस्तरभन्दा विद्यालयको भौतिक सुधार र अङ्ग्रेजी माध्यमको पढाइलाई मात्र प्रधान ठान्ने प्रवृत्ति बढ्दो छ । 

विद्यालयले विद्यार्थीको प्रतिभा मापन गरी तदनुरूपको सिकाइ प्रविधिका आधारमा क्षमता प्रस्फुटन गराउने हो । विद्यार्थीले १२ कक्षासम्मको अध्ययन गर्दा नगर्दै ऊ कुन विधामा अघि बढ्न सक्छ त्यो पहिचान हुनु जरुरी छ । अझ यस सम्बन्धमा कक्षा ८ पूरा गर्दै गर्दा नै विद्यालयले विद्यार्थीको यो विषय राम्रो छ, उसको रुचिअनुसार करियर अघि बढाउन विद्यार्थी र अभिभावकसमेतमा अभिप्रेरणा जगाउन सक्नुपर्छ । यसो हुन सकेमा प्राज्ञिक, खेलकुद, व्यावसायिकलगायत कुन विधा रोज्ने भन्ने ज्ञान विद्यार्थीलाई हुन्छ । कतिपय विकसित देशमा पनि कक्षा १० पार गर्दा नगर्दै विद्यार्थीले आफ्नो रुचिअनुसारको बाटो खोजिसकेका हुन्छन् ।

हाम्रा विद्यालयमा माध्यमिक तहसम्म उत्तीर्ण विद्यार्थीको सिकाइ उपलब्धि उत्साहप्रद छैन । सिकाइको गुण र क्षमता ओरालो लाग्दै गएको भान हुन्छ । कक्षा ८ उत्तीर्ण कतिपय केटाकेटीलाई सामान्य निवेदन चिट्ठी लेख्न नआएका गुनासा प्रशस्त सुन्न पाइन्छ । तिनलाई वर्णविन्यास मिलाउने त कुरै छाडौँ निवेदन लेख्ने ढाँचासम्म पत्तो छैन । ससाना कक्षामा अध्ययनरत बालबालिकाको हकमा विद्यालयमा उपस्थित भएकै आधारमा माथिल्लो कक्षामा चढाउने उदार नीति अपनाउन थालिएको छ । यसले गर्दा तल्लो तहमा अध्यापन गराइरहने शिक्षकमाथि विद्यार्थीलाई गुणस्तरीय र समयसापेक्ष उचित शिक्षा दिलाउन दबाब पर्ने भएन । स्वतः उत्तीर्ण ठानिने विधिले विद्यार्थी कक्षागत र तहगत सिकाइ उपलब्धि हासिल नगरी माथिल्लो कक्षामा पुग्ने भए । तहगत आधारभूत ज्ञान र सीप प्राप्त नभएपछि माथिल्लो कक्षाको पाठ्यक्रम कठिन हुने भयो । तल्लो कक्षाकै आधारभूत ज्ञान हासिल नगरेकालाई माथिल्लो कक्षा चढाएपछि पढ्नमा पनि रुचि कम हुँदै जाने भयो । अन्त्यमा विद्यालय कक्षाबाट भाग्ने वा विद्यालय छाड्नेसम्मको परिस्थिति निर्माण हुने भयो । क्षमताबिनै कक्षा उकाल्ने परिस्थितिले सरकारको शिक्षाको लगानीको प्रतिफल कसरी आउँछ ?

शिक्षाको जग भनेको नै प्रारम्भिक शिक्षा हो । यो अवस्थामा पढाइको क्षमता कमजोर भयो भने जीवनभर कमजोर हुन पुग्छ । यसर्थ प्रारम्भिक कक्षामा भएको सिकाइको क्षति पछि गएर पूर्ति गर्न सम्भव हँुदैन । यही अवस्थामै प्राज्ञिक र भाषिक दक्षता विकास गराउन जोड दिनु जरुरी छ । यसका लागि शैक्षिक वातावरण उपयुक्त हुनुपर्छ । हाम्रा अधिकांश विद्यालयमा स्रोतसाधनको अभाव छ । दक्ष शिक्षकको कमी, कक्षाकोठाको अभाव, शिक्षक दरबन्दीको उचित मिलान नहुनु, पर्याप्त शैक्षिक सामग्री र थप सन्दर्भ पुस्तक र पुस्तकालयको कमी आदि कारणले शिक्षण सिकाइमा असर परिरहेको छ ।

कक्षामा कमजोर देखिएका बालबालिकालाई क्रमैसँग सुधार ल्याउन शिक्षकले हमेसा सकारात्मक सोच र परिवर्तनको बाटो रोज्नु उपयुक्त हुन्छ । कक्षाकोठामा धेरै थरिका विद्यार्थी हुने हुँदा एउटै वातावरण र एकै किसिमको विधिले मात्र पनि सिकाउन सहज हँुदैन । यसका लागि उपयुक्त वातावरणको खोजी हुन जरुरी छ । विद्यार्थीले कक्षामा बस्दा शिक्षकभित्र आफ्नोपन देख्दैन भने त्यसले अनुकूल शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन सक्दैन । कक्षाकोठाभित्र फरक भाषा संस्कृति, भूगोलबाट आएका विभिन्न थरिका विद्यार्थीलाई शिक्षकले समेटी तिनलाई माया गरेर आफूनजिक ल्याउन सक्नुपर्छ । यसरी विभिन्न पृष्ठभूमिबाट आएका विद्यार्थीलाई आफ्नो समीपमा राखेर मायालु वातावरण सिर्जना गर्नु शिक्षकका लागि कम चुनौतीपूर्ण छैन ।

शिक्षकको काँधमा ठूलो जिम्मेवारी भएकाले नै हरेक शिक्षकमा आत्मसम्मानको बोध हुनु जरुरी छ । शिक्षकलाई अरूले दिने मानसम्मानका कुरा आफ्नो ठाउँमा छ तर आफू पनि पेसाप्रतिको अपनत्व, गर्व र इमानदारीप्रतिको प्रतिबद्धता हुनुपर्छ । यसो भए मात्र शिक्षक समाजको आदर्श बन्न सक्छ । शिक्षकबाट नै समाजले राम्रो कु्राको अपेक्षा राखेको हुन्छ । राम्रो शिक्षकको मुख्य ध्येय भनेको नै हरेक बालबालिकाको सिकाइमा सुधार ल्याउनु हो । शिक्षामा हुने सुधारबाट नै व्यक्तिको बानीव्यहोरामा परिवर्तन आई भोलिको असल नागरिक बन्ने हो ।

बालबालिकाको सिकाइमा सुधार ल्याउन घरपरिवार समुदाय वरपरको वातावरण विद्यालय, शिक्षक, पाठ्यक्रम, शिक्षण सिकाइ क्रियाकलाप मूल्याङ्कन पद्धति आदिमा निर्भर हुन्छ । बालबालिकाको अगाडि आडम्बर प्रदर्शन गर्नु, तडक भडक देखाउनु राम्रो होइन । फजुल खर्चमा रमाउने बानी सिकाउनु हुँदैन । तिनका जन्मदिनको पार्टीको सट्टा कुनै राम्रो ठाउँ घुमाउन लैजाने, विभिन्न चाडपर्व मनाउने र मन पर्ने खेलौना दिने गरेमा केटाकेटी बढी खुसी हुन्छन् । अभिभावकको घरपरिवारसम्बन्धी गोप्य कुरा आफ्ना बालबालिकासामु गर्नु हुँदैन । केटाकेटी अभिभावकले गोप्य कुरा गरिरहेका बेला आइपुगिहाले भने मीठो बोली र व्यवहारमा सम्झाएर विषयान्तर गर्नुपर्छ । केटाकेटीबाट लुकेर कुरा गरेको र केटाकेटीले आफ्ना कुरा सुनाउन नचाहेमा अभिभावकले चियो गरेर सुन्नु पनि राम्रो होइन ।

हरेक केटाकेटीले आफ्ना अभिभावक र शिक्षकले गरेका कामको पदचाप पछ्याउने हुन् । जे आफ्ना अग्रज र गुरुबाट सिक्छन् त्यही नै तिनले व्यवहारमा उतार्छन् । शिक्षकका साथै अभिभावकको पनि भूमिका झन् प्रबल देखिन्छ । बिनाअभिभावकको संलग्नता विद्यालय राम्रो बन्न सक्दैन । त्यहाँ अभिभावक, शिक्षक र सरकारी संयन्त्रको उचित समन्वयको खाँचो पर्छ ।

सधैँभरि हाम्रा अभिभावकलाई अपठितको बिल्ला भिराउन भने मिल्दैन । उनका अनुभव विद्यालयप्रतिको योगदान र अपनत्वको आवश्यकता छ । हाम्रा शिक्षक साथीले पनि आफू वौद्धिक वर्ग भएको र अभिभावक अपठित भएको कदापि ठान्नु हँुदैन । सबै अभिभावक एकैनास हुँदैनन् कतिपय शिक्षक आफ्ना सुविधाका लागि कर्मचारीतन्त्रअन्तर्गत बस्न रुचाउने, अभिभावक र जनप्रतिनिधि साथ काम गर्न मन नपराउनेजस्ता कुरा पनि उठ्ने गरेका छन् । अभिभावक र स्थानीय समुदायबाहिर रहेर विद्यालयको शैक्षिक सुधार सम्भव छैन ।

हाम्रा समुदायका शिक्षित अभिभावकको चासो र चिन्तामा विद्यालय नपरेका होलान् । यसको थोरबहुत प्रभाव शिक्षक र विद्यार्थीमा पनि पर्छ । यो हामीकहाँ मात्र होइन विकसित देशमा पनि विद्यालयमा अभिभावकको सहभागिता त्यति रुचिकर नभएको यदाकदा सुन्नमा आउँछ । हाम्रोजस्तो कम पढेलेखेका अभिभावकबाट विद्यालयमा सहभागिता गराउनुको के अर्थ भन्ने बुझाइ पनि नभएको होइन तर यी गलत धारणा हुन् । 

यस्तो सोचबाट विद्यालय शिक्षाको सुधार कल्पना गर्न सकिँदैन । अहिले विद्यालय शिक्षाको व्यवस्थापनको दायित्व पालिकाहरूमाथि आएको छ । यसले गर्दा शिक्षक पालिका तथा व्यवस्थापन समितिअन्तर्गत रहने देखाउँछ । विद्यालय शिक्षासम्बन्धी स्पष्ट नीति अझै देखिँदैन । अभिभावकको विद्यालयप्रतिको कुनै दायित्व कहीँकतै उल्लेख भएको पाइँदैन । यसर्थ उपरोक्त सम्बन्धमा ख्याल राखी शिक्षासम्बन्धी ऐन निर्माण गर्नु जरुरी छ । विद्यालय शिक्षामा देखिएको अन्योल चिर्न यथाशक्य सङ्घीयताअनुरूपको शिक्षा ऐन निर्माण हुनु जरुरी छ । सङ्घीयताले सोचेअनुसारको परिणाम दिन सकेन भन्ने गुनासो आइरहेका बेला अनुकूलको शिक्षा ऐन निर्माण गर्न सके प्रतिफल हासिल हुन सक्छ कि ?