• ९ मंसिर २०८१, आइतबार

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलब्ध गराउँदै

blog

किएभ, माघ २५ गते । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ । गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।

रुसको सम्भावित आक्रमणको सामना गर्न जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सका रक्षामन्त्रीले एक संयुक्त वक्तव्यमा लियोपर्ड युद्ध ट्याङ्क सहायताको एउटा प्रमुख हिस्सा भएको बताएका छन् । प्रशिक्षक र ट्याङ्कको मर्मतसम्भारका सामग्री पनि सहयोगमा समावेश गरिएको छ ।

युक्रेनी रणमैदानमा ठूलो क्षति झेलेर लज्जित भएको रुसले  पराजयको बदला लिन घातक आक्रमण गर्ने त्रासमा युक्रेनी छन् । क्रेमलिनको प्रयास पहिले जितेका क्षेत्रमा पुनः कब्जा जमाउनु हो । गैरकानुनी रूपमा कब्जा गरिएका क्षेत्रमाथि आफ्नो आधिपत्य जमाउन रुसी सेनाले पूर्वी र दक्षिणा भेगमा आक्रमण गर्ने आशङ्कामा प्रतिकारका निम्ति युक्रेनले हातहतियार सङ्कलनका साथै नयाँ सैनिक जवानलाई तालिम दिइरहेको छ । रुस पनि हतियार प्राप्ति र सैन्य तालिम सुदृढ बनाउन तल्लीन छ । रासस/एपी