• २० चैत २०८२, शुक्रबार

औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने अष्ट्रेलियाको घोषणा

blog

क्यानबेरा, चैत २० गते । अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै परिवर्तन नगर्ने र यस विषयमा अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेको छ । स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार टेलिभिजन अन्तर्वार्तामा बोल्दै औषधिको लागत घटाउन लागु गरिएको औषधि लाभ योजनाका आधारभूत नीतिमा कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

उक्त योजना अन्तर्गत सरकारले चिकित्सकको सिफारिसमा दिइने औषधिमा सहुलियत प्रदान गर्दै आएको छ । उहाँले भन्नुभयो, “हामीले अमेरिकालाई बारम्बार स्पष्ट सन्देश दिइरहेका छौँ कि यी आधारभूत नीतिमा कुनै पनि प्रकारको वार्ता हुने छैन ।” यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पेटेन्ट भएका औषधिको आयातमा १०० प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि आएको हो ।

अमेरिकी प्रशासनले मार्च अन्त्यतिर सार्वजनिक गरेको व्यापार सम्बन्धी गुनासो सूचीमा अष्ट्रेलियाको उक्त योजनाले अमेरिकी औषधि नवप्रवर्तनको मूल्य कम आँक्ने र औषधिको मूल्य निर्धारणमा अन्यायपूर्ण अभ्यास अपनाउने आरोप लगाएको थियो । उक्त योजना अन्तर्गत औषधि उत्पादकले व्यक्तिगत खरिदकर्तासँग होइन, सिधै अष्ट्रेलियाली सरकारसँग मूल्य वार्ता गर्नुपर्छ, जसले बजारमा प्रतिस्पर्धात्मक मूल्य युद्ध हुन नदिने उद्देश्य राखेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२५ मा अष्ट्रेलियाबाट अमेरिकातर्फ औषधि निर्यात करिब एक अर्ब तीन करोड अमेरिकी डलर बराबरको थियो । अष्ट्रेलियाको सबैभन्दा ठूलो जैवप्रविधि कम्पनीका उत्पादनमा भने नयाँ शुल्क नलाग्नेमा सरकार विश्वस्त रहेको मन्त्री बटलरले बताउनुभयो, किनकि कम्पनीको अमेरिकामा पनि ठूलो उत्पादन आधार रहेको छ । यसैबिच, व्यापार मन्त्रीका प्रवक्ताले अमेरिकी शुल्कप्रति असन्तुष्टि जनाउँदै यस्तो ‘अनुचित र अवाञ्छित’ निर्णय फिर्ता लिन कूटनीतिक पहल जारी राखिने बताउनुभएको छ । रासस/सिन्ह्वा