• ८ मंसिर २०८१, शनिबार

उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेट

अमेरिकी सरकारको सहायता प्रदान गर्ने नीतिको प्रशंसा

blog

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच भेटवार्ता हुँदै ।

काठमाडौं, माघ २५ गते । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गर्नुभयो । 

यो पनि पढ्नुहोस

गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५‌ औँ वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्राममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा हाम्रा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको युएसएआइडीमार्फत विस्तार भएको सरकार–सरकारबीच (जी टु जी) सहयोग प्रमाण भएको उहाँको भनाइ छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विकसित देशहरूले अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याको रूपमा रहेको जलवायु परिवर्तनले अरू बोझ थपेको धारणा व्यक्त गर्नुभयो । 

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उहाँले नेपालले सन २०२२ को मे मा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताउनुभयो । 


उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुहुँदै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर । तस्बिर : न्यूज एजेन्सी

युएसएआईडी प्रशासक सामन्था पावरले नेपालमात्र जी टु जी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिनुभयो । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकहरूको प्रत्याभूति गर्दै  ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताउनुभयो।

उहाँले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको साथै भर्खरै तीन तहका निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गरेको पनि जानकारी गराउनु भयो । 

सो अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलश्रोत विकासका क्षेत्रमा दक्षिण एसियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको कुरा व्यक्त गर्नुभयो । भेटघाटका अवसरमा द्विपक्षीय विभिन्न मुद्दामा पनि छलफल भएको थियो ।

सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत, युएसएआईडी नेपालका मिसन डाइरेक्टरलगायतको उपस्थिति थियो ।