• १७ वैशाख २०८२, बुधबार

यूएसएआईडीद्वारा सहयोग घोषणा

blog

अमेरिकी सहयोग नियोग (यूएसएआईडी) प्रमुख समान्था पावर मङ्गलबार भक्तपुरस्थित आदर्श माध्यमिक विद्यालयको अवलोकनपछि विद्यार्थीसँग बास्केटबल खेल्दै । तस्बिर : विकास द्वारे

काठमाडौँ, माघ २५ गते । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी)ले नेपाललाई यस वर्ष साढे सात अर्ब रुपियाँ विकास सहायता प्रदान गर्ने भएको छ। नेपाल भ्रमणमा रहनुभएकी यूएसएआईडीका प्रशासक समान्था पावरले नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन नेपाल सरकारको सहयोगार्थ पाँच करोड ८५ लाख अमेरिकी डलर (करिब साढे सात अर्ब रुपियाँ) आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो। घोषित सहयोग रकममध्ये चार करोड दुई लाख डलर यसअघि नियोगद्वारा सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश रहेको जनाइएको छ। 

यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, नेपाली युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको औँल्याउँदै यस कार्यमा अमेरिकाको साझेदारी रहने विश्वासका साथ सहयोग घोषणा गरिएको जनाइएको छ। 

परराष्ट्रमन्त्रीसँग भेट

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसमक्ष अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)का प्रशासक समान्था पावरले भेट गरी नेपाल–अमेरिकाबीचको सम्बन्धमा विविध विषयमा छलफल गर्नुभएको छ। मङ्गलबार भएको भेटमा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा  छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभयो। प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि  गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का प्रशासक सामन्था पावर सोमबार राति नेपाल आइपुग्नुभएको हो। उहाँलाई नेपालस्थित अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले स्वागत गर्नुभयो।