• १२ असोज २०८१, शनिबार

बोक्सीको आरोप लगाउनेलाई छ वर्ष कैद सजायको फैसला

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २४ गते । ओखलढुङ्गा जिल्ला अदालतले बोक्सी आरोप लगाउने तीनजनालाई कैद सजायको फैसला गरेको छ । 

जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षका वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेका सोही स्थानका तीन जनालाई कैद सजायको फैसला भएको हो । 

बोक्सी भएको आरोप लगाई आगोको भुङग्राे पोलिदिने ५० वर्षका दीपक विश्वकर्मा, २७ वर्षकी मुना विश्वकर्मा र एक १७ वर्षका नाबालिकाको विरुद्धमा अदालतले यस्तो फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको एकल इजलासले दिपकलाई छ वर्ष कैदसहित ६० हजार रुपियाँ जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित ५० हजार  रुपियाँ जरिवानाको फैसला भएको छ । 

नाबालिकाको हकमा उहाँका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाइने छ । पीडितलाई नगद ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ । दीपकले ३० हजार, मुनाले १५ हजार र १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेस्तेदार तथा सूचना अधिकारी नवीन खनालले जानकारी दिनुभयो । 

बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्था अनुसार सम्बन्धित स्थानीय तहले १५ हजार व्यहोर्नुपर्ने फैसला भएको श्रेस्तेदार खनालको भनाइ छ । 

उक्त वृद्धालाई २०७५ वैशाख ८ गते दीपक, मुना र ती बालिकाले बोक्सीको आरोप लगाई कुटपिट गरेका थिए । पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामार्फत न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै माघ १५ गते सजायको फैसला गरेको हो