• २१ पुस २०८१, आइतबार

महिला हक्कीमा आर्मी र लुम्बिनीको विजयी सुरुवात

blog

राष्ट्रिय महिला हक्कीमा प्रतिस्पर्धा गर्दै गण्डकी र मधेशका खेलाडी । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केवर, माघ २३ गते । धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबारबाट सुरु भएको छ । जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की सङ्घको संयुक्त आयोजना प्रतियोगिता भएको हो । 

हिमालय युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई २–० गोलले हरायो । अर्को खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो । तेस्रो खेलमा मधेश प्रदेशले गण्डकीलाई ४–२ गोलले हरायो । २८ गतेसम्म चल्ने प्रतियोगितामा ६ प्रदेश र आर्मी गरी सात टोलीको सहभागिता रहेको छ । 

राष्ट्रिय खेलकुद परिषद्का उप निर्देशक तथा तथा हक्की खेलका राष्ट्रिय प्रशिक्षक बाबुराम नेपालले प्रतियोगितामा जम्मा १३ वटा खेल हुने बताउनुभयो । प्रतियोगिताको विजेता टोलीले ७५ हजार, उपविजेताले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।