• २० वैशाख २०८१, बिहिबार

अन्तरिक्षमा मानव बस्ती बसाउन विद्यार्थीलाई प्रशिक्षण (भिडियोसहित)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २१ गते। यो विज्ञान तथा प्रविधिको युग हो। अहिले वैज्ञानिक पृथ्वीबाट अनेक ग्रह तथा उपग्रहरुको अध्ययन तथा अनुसन्धान गरिरहेका छन्।  वैज्ञानिक चन्द्रमा तथा मङ्गल ग्रहमा मानव बस्ती बसाउनका लागि अनेक अध्ययन अनुसन्धान गरिहरेका छन्। अन्तरिक्षमा वायुमण्डल र पानीको मात्रा भएको खण्डमा जीवन सम्भव रहेको जनाउँदै मानव बस्तीको परिकल्पना गर्दै अनुसन्धानमा वैज्ञानिक लागिपरेका छन्। यही परिकल्पना अनुसार काठमाडौंको ब्रेन ल्याण्ड एकाडेमीमा देशका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने विद्यार्थीलाई अन्तरिक्षमा मानव बस्ती बसाउन कसरी सम्भव हुन्छ भन्ने जानकारीसहित प्रशिक्षण दिएको छ। 

वियोन्ड एपोजी नामक संस्थाले विद्यार्थीलाई प्रयोगात्मक प्रशिक्षण दिएको हो। जुन मिसनलाई ‘लुनार ह्यबिट्याट च्यालेन्ज’ नाम दिइएको छ। यसमा विद्यार्थीले अण्डालाई अन्तरिक्षयात्री मानी मिसनलाई पूरा गर्नुपर्ने हुन्छ। जसलाई ताप तथा अन्तरिक्षमा आउने अनेक अवरोधबाट बचाएर सफल अवतरण गराउनुपर्ने हुन्छ। 

१७ विद्यालयका चार–चार विद्यार्थी सहभागी भएको उक्त प्रशिक्षणमा विद्यार्थीले अन्तरिक्षमा जान रकेटको प्रयोग, यसको गतिको अनुपात, अन्तरिक्षमा आवश्यक गर्ने संरचनाको बारेमा जानकारी दिइएको छ। कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो। प्रशिक्षणका क्रममा रकेटको प्रक्षेपण कुन गतिमा गर्ने, अन्तरिक्षमा कसरी ल्याण्डिङ् गर्ने भन्ने सिकाइएको छ। 

अन्तरिक्षमा मानव बस्ती बसाउनको लागि भान्सादेखि शौचालयसम्मको प्रयोग र यसको निर्माण कुन आधारमा गर्ने भन्ने कुरा जानकारी दिइएको छ। वियोण्ड एपाजीका प्रमुख कार्यकारी अधिकृत सुदीपविक्रम अधिकारीका अनुसार यस प्रशिक्षणबाट विद्यार्थीमा विज्ञानको अझ रस परेको बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “यो प्रशिक्षणले विद्यार्थीमा विकसित हुँदै गएको विज्ञानको बारेमा जान्ने चेष्टा अझ बढेको छ। सिकाएका कुरामा चासो राखेर आफूहरू पनि प्रयोगात्मक तरिकाले नै गर्ने गरेका छन्।” यसबाट विद्यार्थीलाई विज्ञान र प्रविधिको बारेमा थप ज्ञान मिल्ने उहाँले बताउनुभयो। 

तीन दिनसम्म प्रतियोगिता चलेको हो। प्रतियोगितामा सिकाइएका कुरालाई राम्रोसँग प्रस्तुतीकरण गर्ने १३ विद्यालयलाई अवार्डको व्यवस्था गरिएको थियो। यसै विषयमा वियोण्ड एपाजीका प्रमुख कार्यकारी अधिकृत सुदीपविक्रम अधिकारीसँग गोरखापत्र अनलाइनका लागि विष्णु पाण्डेय, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो कुराकानी :