गजेन्द्र गुरुङ
खजुरा, चैत २० गते । बाँकेमा पनि माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको छ । चैत १९ गते बिहीबारबाट सुरु भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिनुभयो ।
छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा नियन्त्रण कार्यालयले गरेको व्यवस्थाबमोजिम जिल्लाभरका सबै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको एकाई प्रमुख चौलागाईँले बताउनुभयो ।
“परीक्षाको नतिजा छिटो, व्यवस्थित र समयमै प्रकाशित गर्ने उद्देश्यले परीक्षा नियन्त्रण कार्यालयले गरेको व्यवस्थाबमोजिम हामीले पनि यस जिल्लाका सबै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका जाँच कार्यलाई अगाडि बढाएका छौँ ।” उहाँले भन्नुभयो, “परीक्षण कार्यलाई निष्पक्ष, पादरर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाएका छौँ ।”
शिक्षा विकास तथा समन्वय एकाईका अनुसार बाँकेबाट यस वर्ष ४१ जना कैदीबन्दी र बालबिज्याइँकर्ता तथा नौ हजार ६१५ विद्यार्थी एसइईमा सहभागी भएका छन् । जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ३४ जना बालबिज्याइँकर्ता र दुई वटा कारागारमा रहेका सात जना कैदीबन्दीले पनि यस वर्ष एसइईमा सहभागी भएका छन् ।
डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३१ जना बालबिज्याइँकर्ता, बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित नौवस्ता बालसुधार गृहका ३ जना बालबिज्याइँकर्ता तथा नेपालगन्जस्थित नेपालगन्ज कारागारमा रहेका चार जना कैदीबन्दीहरु र बैजनाथस्थित नौवस्ता कारागारमा रहेका तीन जना कैदीबन्दीहरुले पनि एसइईमा सहभागी भएका हुन् ।
जिल्लाका विभिन्न ८ वटा पालिकाका २७ सामुदायिक र ९ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट सात हजार ९१३ नियमित र एक हजार ७०२ ग्रेड वृद्धि गरी जम्मा नौ हजार ६१५ जना विद्यार्थी एसइईमा सहभागी भएका छन् ।
इकाई प्रमुख चौलागाईँका अनुसार दुई मदरसासहित १०५ सामुदायिक विद्यालय र १०६ संस्थागत गरी २११ विद्यालयका चार हजार ६७५ छात्रा र चार हजार ९४० छात्र एसइईमा सहभागी भएका छन् । उहाँका अनुसार १० वटा सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेड वृद्धि गरी ३२४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी छन् ।
जसमध्ये सामुदायिक १०५ विद्यालयका तीन हजार ३०२ छात्रा र तीन हजार ८३ छात्र गरी छ हजार ३८५ विद्यार्थी र संस्थागत १०६ विद्यालयका एक हजार ३७३ छात्रा र एक हजार ८५७ छात्र गरी तीन हजार २३० विद्यार्थी रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी, बैजनाथ, खजुरा गाउँपालिकामा चार-चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक÷एक गरी ३६ परीक्षा केन्द्र तोकिएको छ । उहाँका अनुसार नेपालगन्जमा सात सामुदायिक र चार संस्थागत, कोहलपुरमा पाँच सामुदायिक र पाँच संस्थागत र अन्य सबै पालिकामा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
कूल ३६ परीक्षा केन्द्रमध्ये नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्जस्थित महेन्द्र मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै ३७५ जना विद्यार्थी र राप्तीसोनारी गाउँपालिका शमसेरगन्जस्थित शिवशक्ति मावि परीक्षा केन्द्रबाट सबैभन्दा कम १६२ जना विद्यार्थीले यस वर्षको एसइईमा सहभागी भएका छन् ।