• १३ साउन २०८१, आइतबार

लुम्बिनीमा बुद्धको नाटक ‘गच्छामी’

blog

गोरखापत्र समाचारदाता

लुम्बिनी, माघ १९ गते। आरोहण गुरुकुलले बुद्धको फरक परिचय दिने नाटक ‘गच्छामी’ लुम्बिनीमा  मञ्चन गरेको छ। पुण्यप्रसाद गौतमद्वारा लिखित पुस्तक गौतम बुद्धमा आधारित नाटक हो।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा लुम्बिनी विकास कोष, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा लुम्बिनीमा मञ्चन भएको नाटकले बुद्ध कसरी महान् प्रेमी बने ?, बुद्धलाई बुद्ध बनाउन उनका परिवारले के कसरी सहयोग गरे ?, बुद्धका परिवार र राज्यका महिलाहरू किन बुद्धजस्तै सन्न्यासी बने ? भन्ने कुराहरूको उत्तर नाटकमार्फत खोज्ने प्रयास गरिएको छ। 

नाटकमा बुद्धको जन्म, जीवन र दर्शनलाई  देखाउन खोजिएको छ। शाक्यमुनि सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भयो। उहाँले ज्ञानको खोजीकै लागि २९ वर्षमै सांसारिक मोहलाई त्यागेर भिक्षुको रूप धारणा गर्नुभयो। भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेर संसारमा दुःख, यसका कारण र निवारणबारे संसारलाई सिकाएर ‘गौतम बुद्ध’ बन्नुभयो। यिनै कुराहरूको कथालाई नाटकमा केलाउन खोजिएको छ। 

पहिलो पटक बुद्धभुमिमा नाटक मञ्चन भएको र यसले बुद्ध सम्बन्धी फरक विचारलाई दर्शक माझ पस्केको अनुभूति गराएको नाटकका निर्देशक सुनिल पोखरेलले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बुद्धत्वको ज्ञानसम्बन्धी नाटकले सकारात्मक सन्देश दिने र यस्ता नाटक बुद्धभुमिमा मञ्चन गर्न पाउनु अत्यन्तै खुसीको कुरा हो।’

नाटकको परिकल्पना तथा निर्देशन रङ्गकर्मी सुनिल पोखरेलले गर्नुभएको हो भने सह–निर्देशनमा रङ्गकर्मी वीरेन्द्र हमाल हुनुहुन्छ। नाटकमा सुनिशा बजगाईँ, राज न्यौपाने, सुवास तिमल्सिना, राजेन्द्र कट्टेल, सौजन लिम्बू, मोहन राई, प्रतिज्ञा भण्डारी, केशव शाही, प्रकाश थापा, आशिष् घिमिरे, एलिजा तुम्बापो, विश्वास मानन्धर, यशराज विमली, आकाङ्क्षा केसी, जमिन राजथला, पूजा तिवारी, समीर राईलगायतको अभिनय रहेको छ।