• ७ मंसिर २०८१, शुक्रबार

विद्यार्थीले विद्यालयमै अनुभव गरे ‘चन्द्रमाको यात्रा’

blog

काठमाडौँ, माघ १८ गते । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले लक्ष्य ठूलो लिन यस्तो भन्नुभएको थियो । सोमबार राजधानीमा विद्यालय तहका ६४ जना बालबालिका पनि चन्द्रमा छुने सोचका साथ चन्द्रमासम्म कसरी यात्रा गर्ने भनेर ज्ञान आर्जन गर्न तल्लिन देखिए । 

उनीहरूले अन्तरिक्षमा रकेट कसरी उडाइन्छ, अन्तरिक्ष यात्रीको बसोबास कस्तो हुन्छ, पुनः पृथ्वीमा कसरी फर्कन्छन् लगायतका प्रश्नमा सवाल जवाफ गरेका थिए । कक्षा ६ देखि ९ सम्मका बालबालिकाले यस्ता विषयमा सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञानसमेत आफूहरूले लिएको बताएका थिए । आइतबारबाट सुरु भएको तीन दिने ‘लुनार ह्यबिट्याट च्यालेन्ज’ कार्यशालाको पहिलो दिन विद्यार्थीले कम्प्युटरमा सफ्टवेयरको माध्यमबाट गरिने परीक्षणअन्तर्गत रकेट प्रक्षेपण (सिम्युलेटेड फ्लाइट) सफलताका साथ गरे । उनीहरूले पानीको चापकोे प्रयोग गरी वाटर रकेटको सफल उडान गरेका छन् । 


वियोन्ड एपोजीका प्रमुख कार्यकारी अधिकृत तथा कार्यशाला प्रमुख सुदीपविक्रम अधिकारीले अन्तरिक्ष यात्रीबारे बुझ्न सहज होस् भनेर चार–चार जना विद्यार्थीको समूहलाई एक–एक वटा अण्डा दिएको बताउनुभयो । यसरी दिइएको अण्डालाई विद्यार्थीले अन्तरिक्ष यात्री मानेर सुरक्षा रणनीति अपनाउनुपर्ने छ । 

‘कार्यशाला अवधिभरी यो अण्डा फुटाउनु भएन । बालबालिकाले अण्डालाई विभिन्न रङ र कलाले सजाएर राखेका छन् । अण्डालाई सुरक्षा कवच दिएर बाहिरबाट आगोको लप्का दिन्छौँ । यसरी हामी दैनिक अण्डाको बलियोपन परीक्षण गरिरहन्छौँ’ उहाँले भन्नुभयो । विभिन्न चरणमा गरिने परीक्षणबाट अण्डा बच्नुपर्छ । यसबाट बालबालिकालाई अन्तरिक्ष यात्री बस्ने क्याप्सुलको डिजाइन र सुरक्षा कसरी गर्नु पर्दोरहेछ भन्ने ज्ञान दिन यसो गर्ने गरिएको उहाँले बताउनुभयो ।


उहाँका अनुसार ‘लुनार ह्यबिट्याट च्यालेन्ज’ भनेको चन्द्रमामा आवास कसरी बनाउने भन्ने ज्ञान दिन आयोजित कार्यशाला हो । “संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) को आर्टेमिस मिसन एक रोबोटिक र मानव चन्द्रमा अन्वेषण कार्यक्रम हो । यही मिसनको नमुना प्रयोग गरी हामी नेपाली बालबालिकासँग सिकाइ र बुझाइ गर्न थालेका हौँ” उहाँले भन्नुभयो । 

बालबालिकालाई रकेटको प्रक्षेपणदेखि अवतरणसम्मको ज्ञान दिनुका साथै अन्तरिक्ष यात्रीको बसोबासका बारेमा जानकारी दिने कार्यशाला यो नेपालमै पहिलो पटक आयोजना गरिएको उहाँले दावी गर्नुभयो । सहयोगी सेकेन्डरी स्कुल, गोकर्णेश्वर चालका विद्यार्थी चन्द्रा थापाले चन्द्रमाबारे आफूमा पहिलेदेखि जान्ने र बुझ्ने इच्छा रहेको बताउनुभयो । 


कार्यशालाबाट चन्द्रमामा अन्तरिक्ष यात्रीले कसरी बसोबास गर्छन्, रकेट कसरी उडाइन्छ भन्ने लगायतका कुरा जान्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । ब्रेनल्यान्ड एकेडेमी, बूढानीलकण्ठमा कक्षा ९ मा अध्ययनरत एलिसा श्रेष्ठले अन्तरिक्ष यात्रीबारे जान्न पाउँदा र वाटर रकेट उडाउन पाउँदा रमाइलो अनुभव भइरहेको बताउनुभयो । 

काठमाडौँ म्यारिडियन स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी दिया गिरीले रकेट र अन्तरिक्षबारे सिक्न पाउँदा रमाइलो अनुभव भएको बताउनुभयो । आइटी इन्जिनियरिङमा आफ्नो रुचि भएको बताउने दियाले कार्यशालाबाट पाएको ज्ञानले इन्जिनियरिङ अध्ययनमा समेत सहयोग गर्ने बताउनुभयो ।