काठमाडौँ, माघ १८ गते । निर्देशक राजकुमार सन्तोषी करिब नौ वर्षपछि निर्देशनमा फर्किएका छन्। यस पटक उनले अघिल्ला चलचित्रभन्दा पूर्ण रूपमा फरक कथा दर्शकसामु पस्किन खोजेका छन्। चलचित्र ‘गान्धी गोडसे एक युद्ध’ गान्धी र गोडसेबीचको वैचारिक युद्धको काल्पनिक कथा हो।
अगस्ट १९४७ मा देशको स्वतन्त्रता, जहाँ बेलायती दासत्वबाट मुक्तिको खबर आयो। त्यसै क्रममा देशको विभाजनपछि मनभित्र विभाजनको पीडा, लुटपाट र दुःखको नयाँ युग सुरु भयो। देशमा अशान्ति भयो। राष्ट्रपिता महात्मा गान्धीले पनि विरोधको आवाज सुन्नु प-यो। ३० जनवरी १९४८ मा नाथुराम गोडसेले राष्ट्रपिता गान्धीको गोली हानी हत्या गरेका थिए। यो चलचित्र पनि त्यही त्रासदीको काल्पनिक विस्तार हो।
असगर वजाहतको नाटक ‘गोडसे एट गान्धी डटकम’मा आधारित यस चलचित्रले गोडसे र गान्धीलाई एउटै मञ्चमा ल्याउँछ र उनीहरूमाथि लागेका आरोप र प्रतिआरोपहरू देखाउँछ; जहाँ विचारहरूको भयङ्कर युद्ध हुन्छ। चलचित्रको कथा भारत र पाकिस्तान विभाजनको त्रासदी देखाएर सुरु हुन्छ। सबैतिर कोलाहल छ। देश साम्प्रदायिक दङ्गाको आगोमा जलिरहेको छ। गान्धीको विरोध भइरहेको छ। देशको हालत देखेर राष्ट्रपिता चिन्तित छन्।
चलचित्रको अर्कोतर्फ गोडसेले महात्मा गान्धीलाई यी सबै कुराको दोषी बनाउँछन्। अन्ततः उनले गान्धीलाई मार्छन्। गोडसे भारतको पुणेमा पत्रिका छाप्ने काम गर्छन्। जब पुलिसलाई उनी महात्मा गान्धीविरुद्ध लागेका छन् भन्ने छनक हुन्छ, त्यसपछि उनलाई पुलिसले पक्रिन्छ र गान्धीलाई केही मात्रामा भए पनि राहत महसुस भएको काल्पनिक कथा चलचित्रमा पस्कन खोजिएको छ।
यसपछि गोड्से र गान्धी आमने–सामने हुन्छन्। दुवै कसरी आमने–सामने हुन्छन् भन्ने कुरा चलचित्रको मुख्य विषय हो। चलचित्रको पटकथा तथा निर्देशन सन्तोषीले गरेका हुन्। उनका लागि यो चलचित्र एक अद्वितीय प्रयोग हो। चलचित्रले गान्धी बाँचेको भए देशलाई कस्तो दिशा दिन्थे भन्ने देखाउँछ। निर्देशक सन्तोषीले गान्धीमाथि लागेको आरोप र उनको पीडालाई प्रस्ट रूपमा देखाउन खेजेका छन्।
चलचित्र मध्यान्तरसम्म सुस्त गतिमा अघि बढ्छ। चलचित्रमा हिन्दु र मुस्लिमबीच सद्भाव कायम गर्न गान्धीले गरेको आमरण अनशन पनि समावेश छ। मध्यान्तरपछि गोडसे र गान्धी आमनेसामने हुँदा उनीहरूको विचारधाराको भिडन्त देखिन्छ। यद्यपि, शब्दहरूको यो युद्धले गोडसे र गान्धी आआफ्ना सिद्धान्तमा अडिग र बाध्यकारी अवस्थामा सबै कर्म गरिरहेका थिए भन्ने चलचित्रमा देखाउन खोजिएको छ। चलचित्रले छुवाछूत, जातिवाद, आर्थिक, मानव शोषणजस्ता सामाजिक समस्या हटाउन र ग्राम स्वराज आन्दोलनमार्फत समानता र न्याय स्थापना गर्न गान्धीले गरेको प्रयासलाई पनि उजागर गर्न खोजेको छ। चलचित्रमा नेहरू, सरदार वल्लभभाइ पटेल, मौलाना आजादजस्ता नेतालाई उनीहरूको पोसाकबाट चिन्न सकिन्छ ।
गान्धीको भूमिकामा दीपक अन्तानीले महात्माको सङ्घर्ष, द्वन्द्व र कार्यशैलीलाई उचित रूपमा आत्मसात् गरेका छन्। उनको मुस्कान बापुको मुस्कानसँग मेल खान्छ। अर्कोतर्फ चिन्मय मण्डलेकरले देश विभाजनको त्रासदीबाट आक्रोशित गोडसेको चरित्रलाई जीवन्त बनाएका छन्।
राजकुमार सन्तोषीकी छोरी तनिषाले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्। चलचित्रमा सुषमाको भूमिकामा उनले निर्दोषपन, भावना र गान्धीप्रतिको सम्मानलाई अभिनयमा सशक्त रूपमा पस्किएकी छन्। चलचित्रबाट अनुज सैनीलाई डेब्यु गराइए पनि उनको अभिनयमा खासै दम छैन। छायाकार ऋषि पन्जाबीले त्यो जमानालाई पनि आफ्नो क्यामरामा सही ढङ्गले कैद गरेका छन्। भारतको इतिहासलाई कथाको नजरबाट हेर्न चलचित्र ‘गान्धी गोडसे एक युद्ध’ एउटा रोचक र साहसी प्रयास साबित हुने देखिन्छ।