काठमाडौँ, भदौ ४ गते । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ ।
घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियलले ओसासुनालाई १–० गोलले हरायो । रियलका लागि एमबाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।
ओसासुनाका गोलरक्षक जुआन क्रुजले बक्सभित्र एमबाप्पेलाई फल हानेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसलाई एमबाप्पेले सदुपयोग गर्नुभयो ।
खेलको अन्तिममा एबेल ब्रेटोनले रातो कार्ड पाएपछि ओसासुनाले १० खेलाडीमा खेल सकेको थियो । सिजनको पहिलो जितसँगै रियलले तीन अङ्क बनाएको छ । ओसासुनाले हारबाट लिगको सुरुवात गरेको छ । एजेन्सी