• १६ भदौ २०८१, आइतबार

फुटबलका पहिचान पेले

blog

पहिले रोए, अनि रुवाएर गए– पेले । उनले भनेका थिए, “पेले मर्दैन, पेले मर्ने छैन । पेले सदासर्वदा रहने छ ।” पेलेलाई आत्मानुभूति भएको हुनुपर्छ, फुटबलले युगौँसम्म आफ्नो नाम सम्मानपूर्वक लिने छ ।

पेलेले देह त्याग गरेका छन् र ब्राजिल रोइरहेको छ, विश्वजगत्मा शोक जनाइयो तथा आफ्नो अग्रज र अभिभावक गुमाएको छ फुटबलले । पेलेको जीवनका सबै मुख्य मोडमा आँसु बगेको छ, चाहे त्यो विश्वकपमा उनको पहिलो खेल होस् वा चोटका कारणले खेल्न नसक्ने हुँदा वा फुटबलबाट अवकाश लिँदा होस्, आँसुले फुटबलप्रेमीको मन दुखाएको छ ।

विश्वकपको पहिलो खेलले नै पेलेको आँसु देखेको थियो, जतिबेला खेल जितेर उनी रोएका थिए । ती आँसु खुसीका थिए । घुँडामा चोट हुँदाहुँदै पनि आफ्नो पहिलो खेलमा उनले स्विडेनमाथि जित हासिल गरे । पेले रोएको र टिमका सदस्य गारिन्चाले उनलाई ढाडस दिएको त्यस क्षणको तस्बिरले पेलेको किशोर मनको सङ्घर्ष र व्याकुलता बयान गर्दछ । उनले भनेका थिए, “म गरिब पृष्ठभूमिबाट आएको छु र फुटबलमा नै मैले आफ्नो भविष्य देखेको छु । यसले नै मेरो जीवन सहज बनाउनेछ ।”

गरिबीमा जेनतेन जीवन निर्वाह गरिरहेका पेलेको पहिचान फुटबलमा स्थापित भइसकेको थिएन, तथापि उनी स्थानीय क्लब सान्तोसका सदस्य भइसकेका थिए । त्यसको एक वर्षपछि उनी १६ वर्षको उमेरमा ब्राजिलको राष्ट्रिय टिमको सदस्य भए र १७ वर्षको उमेरमा विश्वकपमा खेल्ने अवसर उनलाई प्राप्त भयो ।

त्यो युगमा फुटबल आजको जस्तो लोकप्रिय थिएन । हकी, क्रिकेट, बास्केटबल खेल फुटबलभन्दा अगाडि थिए । फुटबल एक खेल मात्र थियो, यसमा उच्च व्यावसायिकता, उत्साह, उन्माद तथा खेलको अति उत्तम विद्या वा कला थिएन । फुटबल खेलिन्थ्यो र राष्ट्रिय लिगहरू सञ्चालन हुन्थे तर फुटबलले विश्वलाई वशीभूत गर्न बाँकी नै थियो । जब पेले मैदानमा उत्रिए र विश्वले उनलाई देख्यो, अनि ब्राजिल सन् १९५८ को विश्वकप विजेता हुँदा त्यसको नायक ठहरिए पेले, फुटबल रातारात खेलहरूको राजा हुन गयो । त्यसपछि फुटबलको लोकप्रियतालाई कसैले भेट्याउन सकेको छैन । यसर्थमा फुटबलको पहिचानसँग पेलेको नाम जोडिएको छ भन्न सकिन्छ ।

पेलेको निधनप्रति नेमारको प्रतिक्रियाका शब्दले धेरै कुरा बयान गर्दछ, “पेलेभन्दा पहिले १० नम्बर मात्र एक नम्बर थियो । मैले आफ्नो जीवनमा यो वाक्यांश कहीँ पढेको हुँ तर यो वाक्य सुन्दर, अधुरो छ । म भन्न चाहन्छु पेलेभन्दा पहिले फुटबल मात्र एक खेल थियो । पेलेले यसलाई सम्पूर्णतया रूपान्तरित गरिदिए । उनले फुटबललाई कला र मनोरञ्जनमा परिवर्तन गरे । उनले गरिब र अश्वेतको आवाज बुलन्द बनाए तथा खासगरी ब्राजिललाई दृश्यमा ल्याए । फुटबल र ब्राजिलले राजाकै कारण आफ्नो हैसियत बढाएका थिए । उनी बिदा भएका छन् तर उनको जादु रहिरहने छ ।”

विश्व परिदृश्यमा आएपछि पेलेसँग मैदान बाहिर भएका अनेक अविस्मरणीय र असाधारण घटनाले समेत फुटबलको पहिचान पेले बनेको पुस्ट्याउँछ । अहिलेको पुस्तालाई अविश्वासिलो लाग्न सक्छ यो प्रसङ्ग तर एक समय फुटबलभन्दा माथि थियो पेलेको पहिचान । जहाँ पेले जान्थे त्यहाँ केही नयाँ र अविश्वासिलो घटना हुन्थ्यो । फुटबल खेल हेर्न रङ्गशालामा कम दर्शक हुन्थे, पेलेको सम्मोहनले हजारौँको भीड उनलाई पछ्याइरहेको हुन्थ्यो ।

सन् १९७७ मा जब पेलेले आफ्नो अन्तिम फुटबल खेल अर्थात् बिदाइ खेल खेले ब्राजिलको एउटा पत्रिकाले त्यसमा शीर्षक दियो– आकाशसमेत रोइरहेको थियो । न्युयोर्कमा सान्तोस र न्युयोर्क कसमसबीचको खेल चलिरहँदा उत्तराद्र्धमा वर्षा भएको थियो । बक्सिङका महान् खेलाडी मोहम्मद अली र सन् १९६६ मा इङ्ग्ल्यान्डलाई विश्वकप जिताउने कप्तान बबी मुरलगायतका हस्तीहरूसहित हजारौँ दर्शक पेलेको अन्तिम खेल हेर्न आएका थिए । फुटबलबाट पेलेको सन्न्यास सुखद क्षण पक्कै पनि थिएन र वर्षा हुनु एक स्वाभाविक प्रक्रिया भए पनि पेलेको सन्दर्भमा आँसुका धारा नै थिए ।

कसमस उही क्लब थियो जो टाट पल्टिएको अवस्थामा सन् १९७५ मा पेलेको आगमनपछि लिग च्याम्पियन भएर उदायो । पेलेले एक डुबेको क्लबलाई शीर्षमा पु¥याएर विश्राम लिए, फुटबललाई शिखरमा पु¥याए, ब्राजिललाई तीन पटक विश्वकप जिताए तथा भूलोकबाट जाँदाजाँदै छिमेकी देशलाई विश्वकप जितेकोमा बधाई दिँदै “बधाई छ अर्जेन्टिना । पक्कै पनि डियगो अहिले मुस्कुराइरहेका होलान्,” भने । दुई वर्ष पहिले डियगो म्याराडोनाको निधन हुँदासमेत पेलेले भनेका थिए “चाँडै हामी दुवै जना स्वर्गमा फुटबल खेल्ने छौँ ।” खेलमा मुख्य प्रतिद्वन्द्वी भए पनि अर्जेन्टिना र म्याराडोनाप्रति पेलेका अभिव्यक्त भावनामा उनको महानता झल्कन्छ ।

सन् १९६२ को विश्वकपसमेत ब्राजिलले जित्यो तर ‘काटानासियो’ नामले प्रख्यात रक्षात्मक रणनीति बनाएर खेलिरहेका युरोपेली टिमका खेलाडीले पेलेसँग भयभीत भएर झेली खेल खेल्दा उनी नराम्रोसँग घाइते भएका थिए । सानो उमेरमै गम्भीर चोटले ग्रस्त पेलेले जेनतेन स्वास्थ्यलाभ गरे र सन् १९६६ को विश्वकपका लागि तयार भए । इङ्ग्ल्यान्डमा समेत पेलेलाई घेराबन्दीमा पारियो र उनी खेल्नै नसक्ने भए । चोटको पीडा र आफूलाई लक्ष्य बनाइने झेली खेलबाट वाक्क भएर पेलेले रुँदै आइन्दा फुटबल नखेल्ने निर्णयसमेत लिए तर फुटबलले उनलाई बोलायो र सन् १९७० को विश्वकप उनकै भयो, उनी तीन विश्वकप जित्ने पहिलो खेलाडी भए र छँदै छन् ।

पेलेले पहिलो विश्वकप जित्दा नै ब्राजिलले उनको महìव बुझिसकेको थियो । त्यही भएर पेलेलाई सुरक्षित राख्न ब्राजिलका राष्ट्रपति जानियो क्वाड्रोसले सन् १९६१ मा उनलाई राष्ट्रिय सम्पत्ति घोषणा गरेका थिए । उनै पेलेको २०७९ पुस १४ गते आन्द्राको क्यान्सरका कारण ८२ वर्षको उमेरमा निधन भयो । ब्राजिलले तीन दिन ‘राष्ट्रिय सम्पत्ति’ गुमेको शोक मनायो र उनको आठ किलोमिटर लामो शवयात्रामा ब्राजिलका सबै तह र तप्काका मानिसको उपस्थिति थियो, यस्तो लाग्दथ्यो त्यहाँ ‘रियो कार्निभल’ चलिरहेको छ ।

पेलेले पहिलो क्लब सान्तोसको रङ्गशालामा उनको शव श्रद्धाञ्जलिका लागि राखिएका बेला ब्राजिलको र सान्तोस क्लबको झन्डाले सजाइएको पेलेको कफिन वरिपरि हजारौँ मानिस कोही आफ्नो गुमेको भावमा मलिन अनुहारमा थिए । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज लुला डा सिल्भा, सर्वोच्च अदालतका न्यायमूर्तिहरूसहित उच्च पदस्थ व्यक्ति पेलेलाई श्रद्धाञ्जलि दिन रङ्गशालामै पुगे ।

पेले भनेर गएका छन्, “सफलता कुनै दुर्घटना होइन । कडा परिश्रम, लगनशीलता, सिकाइ, अध्ययन, त्याग तथा सबैभन्दा महìवपूर्ण कुरा तपाईं आफूले गरिरहेको काम वा जे गर्न सिक्दै हुनुहुन्छ त्यसलाई माया गर्नुस् ।”

नामप्रति सजग

पेलेका बुवा प्रसिद्ध अमेरिकी वैज्ञानिक थोमस अल्वा एडिसनसँग औधि प्रभावित थिए । यसैले उनले आफ्नो छोराको नाममा एडिसन जोडे तर बाल्यकालमा आई अक्षरको उच्चारण गाह्रो पर्ने भएकाले होजो रामोस डो नासिमेन्टो अर्थात् डोन्डिन्होको छोराको नाम एड्सन अरान्तेस डो नासिमेन्टो (भ्मकयल ब्चबलतभक मय ल्बकअष्mभलतय) पर्न गयो । डोन्डिन्हो समेत फुटबल खेलाडी थिए तर उनको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । बुवाको पदचिह्न पछ्याउँदै पेलेले पनि सानैमा बल खेल्न थाले । उनीसँग फुटबल थिएन, मोजा वा अन्य त्यस्तै वस्तुले बनाएको वा भोगटेलाई बल बनाएर उनी खेल्दथे ।

सन् १९४० अक्टोबर २३ मा जन्मिएका एड्सन अरान्तेस डो नासिमेन्टोमा जन्मजात फुटबल कला थियो । बस्तीमा उनी अरू बालकभन्दा राम्रो खेल्दथे । परिवारका सदस्यले उनलाई मायाले डिको भन्ने गर्थे र टोलमा समेत उनी त्यही नामले परिचित थिए । एक दिन सँगै खेलिरहेका बालकले उनलाई ‘पेले’ भन्न थाले । उनलाई रिस पनि उठ्यो आफ्नो नाम बिगा¥यो भनेर । उनले थाहा पाएनन्, यो नाम कहाँबाट आयो किनभने पोर्चुगेली भाषामा यो शब्द थिएन । डिकोले त्यस शब्दको अर्थ बुझेनन् । पेले भनेर आफूलाई जिस्क्याउन थालिएको भनेर डिकोले साथीहरूसँग झगडा पनि गर्थे । डिकोले जति विरोध गरे पनि पेले नाम उनीसँग जोडिएरै छाड्यो ।

एक समय पेलेले भनेका थिए, “थोमस एडिसनको नामबाट मेरो नामकरण भएकोमा मलाई धेरै गर्व थियो र मलाई एड्सन नै भनियोस् भन्ने चाहन्थे । मलाई लाग्थ्यो पेले शब्द भयानक छ । यो वाहियाद नाम थियो । एड्सन धेरै नै गम्भीर र महìवपूर्ण लाग्दथ्यो ।”

डिकोलाई पेले कतै मन नपरेको कुरा माथिको अभिव्यक्तिले दर्शाउँछ तर विधिको विधान उनको पहिचान पेले नै भयो । उनी पेले नामबाटै हस्ताक्षर गर्दथे र पेले भएरै यस संसारबाट बिदा भए ।

एक खेलाडी पेलेका रूपमा फुटबलमा उदाए । सन् १९५८ मा मानिसहरू पहिलो पटक विश्वकपका खेल प्रत्यक्ष हेर्न टेलिभिजनका अगाडि ओइरिए । टेलिभिजनको श्यामश्वेत पर्दामा १७ वर्षका एक फुच्चे खेलाडी फुर्तिलो खेल देखाउँदै गरेको दृश्य देखियो । नाम चलेका ठूला खेलाडीलाई नै छक्काएर खेलिरहेका ती डिको विश्वकप समापनसम्म पेले नामबाट विख्यात भइसकेका थिए ।

खेल जीवन

सन् १९६० र १९७० को दशकमा पेलेले आफ्नो क्लब सान्तोस र ब्राजिलको राष्ट्रिय टिमका साथमा विश्वको भ्रमण गरे, आफ्नो दर्शनीय खेलद्वारा दर्शकलाई मनोरञ्जन प्रदान गरे । आफ्नो २२ वर्षे फुटबल जीवनमा पेलेले १२ सय ८१ गोल गरेका थिए । उनले ब्राजिलका लागि ७७ गोल गरे ।

ब्राजिलको दक्षिणपूर्वमा अवस्थित मिनास गेराइस राज्यको ट्रेस कोराकोस नगरको गरिब बस्तीमा जन्मिएका पेलेका पिता स्थानीय स्तरका व्यावसायिक फुटबल खेलाडी थिए । बाउरु एथलेटिक क्लबबाट खेल्दै पेलेले एक फुटबल खेलाडीका रूपमा आफ्नो पहिचान बनाए । पूर्वविश्वकप खेलाडी भाल्डेमार डी ब्रिटोले सबैभन्दा पहिले पेलेको क्षमता पहिचान गरी उनलाई सान्तोस क्लब लिएर गएका थिए । सान्तोसमा पहिलो सत्र खेल्दै पेले लिगमा ३२ गोल गरेर सर्वाधिक गोलकर्ता भए । १६ वर्षको उमेरमा पेले ब्राजिलको राष्ट्रिय टिमको सदस्य भएका थिए । त्यसको लगत्तै उनलाई सन् १९५८ को विश्वकप खेल्ने ब्राजिलको टिममा चयन गरियो ।

तर विश्वकपमा पेलेको शारीरिक अवस्था राम्रो थिएन, उनको घुँडामा चोट लागेको थियो । जसका कारण पेलेले स्विडेनमा भएको विश्वकपमा सुरुका दुई खेल खेल्न सकेनन् । त्यसपछि क्वाटरफाइनलमा उनी मैदानमा उत्रिए । सो खेलमा उनले निर्णायक गोल गरे भने सेमिफाइनलमा ह्याट्रिक गरेर सनसनी मच्चाए । फाइनल खेलमा पेलेको दुई गोलपछि ब्राजिलले विश्वकप नै जित्यो ।

आफ्नो पहिलो विश्वकपमा पेलेको गर्जन विश्वभरि सुनियो । फुटबलका नयाँ नायकलाई रातारात युरोपमा खेल्नका लागि लोभलाग्दा प्रस्ताव आउन थाले । इटालीको इन्टर मिलानले लाखौँ डलरको प्रस्ताव राख्यो । पेलेका लागि युरोपबाट असाधारण प्रस्ताव आउन थालेपछि ब्राजिलका राष्ट्रपतिले उनलाई राष्ट्रिय सम्पत्ति नै घोषणा गरी अमूल्य बनाइदिए । ।

पेले प्रसिद्धिको उचाइमा पुगेपछि सान्तोस क्लबसमेत अन्तर्राष्ट्रिय फुटबलको एक ठूलो टिम बन्न पुग्यो । सान्तोसका प्रदर्शन खेलबाट पेलेले आकर्षक लाभ पाउन थाले । वार्षिक लगभग डेढ लाख अमेरिकी डलर कमाएर पेले टिम खेलमा विश्वका सर्वाधिक कमाउ खेलाडी बन्न पुगेका थिए ।

क्लब प्रतिस्पर्धामा समेत चम्किरहेका पेलेले सन् १९६२ र १९६६ को विश्वकपमा भने सङ्घर्ष गर्नुप¥यो । चिलीमा भएको विश्वकपमा पेलेको काछमा चोट लाग्यो । पहिलो खेलमा मेक्सिकोविरुद्ध खेलिरहँदा २–० ले ब्राजिल अगाडि रहेको अवस्थामा पेलेलाई चोट लागेको थियो । पेलेले त्यस खेलमा एक गोल गरेका थिए । त्यसपछि चेकोस्लोभाकियाविरुद्धको खेलमा उनको चोट बल्झियो, अनि पेलेले प्रतियोगिताका अन्य खेल खेलेनन् ।

सन् १९६६ को विश्वकपमा पेले फर्किए । ब्राजिल लगातार तेस्रो पटक ट्रफी जित्ने दाउमा थियो तर पेलेको दुर्भाग्य पुनः उनलाई चोट लाग्यो, उनी फेरि दुई खेलमै सीमित हुन पुगे । ब्राजिलले पहिलो चरण पनि पार गर्न सकेन । बारम्बारको चोटले आहत पेलेले आइन्दा नखेल्ने घोषणा पनि गरे तर फुटबलबाट उनी कहाँ टाढा रहन सक्थे र ।

सन् १९७० को विश्वकपमा जाँदा पेलेको विरासत प्रश्नको घेरामा थियो तर तीनहप्ते प्रतियोगितामा पेले पूर्ववत् उत्कृष्ट देखिए । उनले प्रतियोगितामा चार गोल गरे । फाइनल खेलमा ब्राजिलद्वारा इटाली ४–१ गोलअन्तरले पराजित भयो । त्यस खेलमा पेलेले गरेको पहिलो गोल विश्वकपमा ब्राजिलको सयौँ गोल हुन पुग्यो । पेले तीन विश्वकप जित्ने पहिलो खेलाडी भए ।

‘ब्ल्याक पर्ल’ अर्थात् कालो मोती उपनाम पाएका पेलेले सन् १९७४ मा सान्तोसका लागि आफ्नो अन्तिम खेल खेलेका थिए । उनले खेलबाट सन्न्यास लिने योजना बनाएका थिए तर व्यवसायमा घाटा हुँदा उनी दस लाख डलर ऋणमा डुबे । त्यही समयमा युरोपका शीर्षस्थ क्लबहरू पेलेलाई आफ्नो टिममा आबद्ध गर्न जोरजुलुम गर्न थाले तर पेलेलाई उत्तर अमेरिकी क्लब न्युयोर्क कसमसले आकर्षित गरिरहेको थियो ।

सन् १९७५ मा पेलले कसमसबाट तीन वर्ष खेल्न २८ लाख डलरको सम्झौता गरे । पेलेले सन् १९७७ मा कसमसलाई लिग विजेता बनाए र त्यहीँ उनले आफ्नो जीवनको अन्तिम खेल पनि खेलेका थिए ।