• १२ असोज २०८१, शनिबार

स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

blog

निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन आएको सेवाग्राहीहरु। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १७ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित भएका छन्। झापा विर्तामोडस्थित बीएण्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन्। 

सदरमुकामस्थित जिल्ला अस्पताल ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर आइतबार र सोमबार दुई दिन सञ्चालन भएको थियो। शिविरमा पहिलो दिन आइतबार ४५८ जना र दोस्रो दिन सोमबार ६२८ गरी एकहजार ८६ जनाले सेवा प्राप्त गरेका शिविर स्वयम्सेवक संयोजक एवम् सोसियल युथ गाइज ताप्लेजुङका अध्यक्ष लीलाराज पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार शिविरमा उपचार सेवा लिन आएका सबै सेवाग्राहीले सेवा प्राप्त गरेका छन्। 

स्वास्थ्य शिविरमा मुटु रोग, क्यान्सर रोग, स्त्री रोग, हाड जोर्नी तथा नसासम्बन्धी रोग, नाक, कान, घाटीसम्बन्धी रोगको उपचार तथा परीक्षण सेवा प्रवाह गरिएको थियो। विशेषज्ञ चिकित्सक (डाक्टर) को सहभागितामा सञ्चालित स्वास्थ्य शिविर प्रभावकारी भएको बताइएको छ।

ताप्लेजुङ जिल्ला अस्पतालसहित यहाँका नौवटै स्थानीय तह शिविर आयोजकको भूमिकामा रहेका थिए। शिविरको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गाप्रसाद प्रसाईंले संयुक्त रुपमा आइतबार बिहान उद्घाटन गर्नुभएको थियो। 

यता शिविर उद्घाटनका क्रममा अस्पतालका सञ्चालक प्रसाईंले प्रभु इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा बीएण्डसी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो। उहाँले प्रतिव्यक्ति वार्षिक छ हजार रुपियाँ रकम बुझाएर स्वास्थ्य बीमा गर्न र यसबाट लाभ लिन सबैलाई आग्रह पनि गर्नुभयो।