शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, चैत २० गते । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेमा मुसा धपाउन गोठ नजिकै बालेको आगो सल्किँदा गोठमा आगलागी भएको छ । बिहीबार साँझ स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार आगलागीबाट एकवटा गाईको बाछी जलेर घाइते भएको छ भने १० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट अन्दाजी एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । दमकल तथा स्थानीयवासीको सहयोगमा करिब आधा घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक गौरिशंकर साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।