• १९ चैत २०८२, बिहिबार

निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता सम्मानित

blog

जग्गादातालाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम । तस्बिर : चन्द्र पन्थाक ।

चन्द्र पन्थाक

ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सम्मान गरेको छ। सुविधासम्पन्न कभर्ड हल निर्माणका लागि जग्गा दान गर्ने स्थानीय जग्गादाताहरूलाई गाउँपालिकाले कदर-पत्रसहित सम्मान गरेको हो ।

हालै निर्माण सम्पन्न भएको कभर्ड हल परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जग्गादाताहरूलाई दोसल्ला ओढाएर कदर–पत्र प्रदान गर्नुभयो । सम्मानित हुनेहरूमा मैवाखोला गाउँपालिका–३ का खगेन्द्र थक्लुङ र सोही वडाकी जैरानी लिम्बू हुनुहुन्छ ।

वडा नं. ३ साँघुका वडाध्यक्षसमेत रहनुभएका थक्लुङले आफ्ना बाजे स्व. चरणध्वज थक्लुङ र बज्यै स्व. कृष्णमाया आङ्बुहाङ लिम्बूको स्मृतिमा चार रोपनी चार आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । यस्तै, जैरानी लिम्बूले आफ्ना स्वर्गीय ससुरा नारायणप्रसाद थक्लुङ, सासू स्व. बुद्धमोती तिलिङ (थक्लुङ) र श्रीमान् स्व. हस्तबहादुर थक्लुङको स्मृतिमा १० आना जग्गा दान गर्नुभएको हो ।

उहाँहरूले उपलब्ध गराउनुभएको सोही जग्गामा दुई करोड १३ लाख रुपैयाँभन्दा बढीको बजेट लगानीमा कभर्ड हल निर्माण गरिएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।

मनकारी दाताहरूले निःशुल्क जग्गा उपलब्ध गराएकै कारण बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न सफल भएको बताउँदै गाउँपालिका अध्यक्ष वनेमले यस योगदानले स्थानीय खेलकुदको विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।