सहदेव बस्नेत
जाजरकोट, चैत २० गते । जाजरकोट सदरमुकाम खलङ्गास्थित होटल तथा पसलहरूमा संयुक्त बजार अनुगमन गरिएको छ। शान्तिचौतारा र गैरीखाली क्षेत्रमा रहेका ३४ वटा होटल तथा पसलमा गरिएको अनुगमनले बजार व्यवस्थापनको कमजोर अवस्था उजागर गरेको छ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत दिलीपकुमार सोनीका अनुसार प्रशासनको आयोजनामा गरिएको अनुगमनका क्रममा करिब ५६ हजार रुपियाँ बराबरका म्याद गुज्रिएका पेय पदार्थ तथा खाद्यान्न सामग्री नष्ट गरिएको छ।
अनुगमन टोलीका अनुसार बजारमा अझै पनि उपभोक्ता अधिकारको खुलेआम उल्लङ्घन भइरहेको पाइएको छ। अधिकांश होटल तथा पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा गम्भीर कमी देखिएको तथा खाद्यान्न सामग्रीको व्यवस्थापन लापरबाहीपूर्ण रहेको भेटिएको छ।
अनुगमनका क्रममा डिजेल र पेट्रोलको मूल्यमा असमानता पनि देखिएको छ। एउटै क्षेत्रमा फरक–फरक दरमा इन्धन बिक्री हुनु उपभोक्तामाथिको ठगी भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रशासकीय अधिकृत सोनीका अनुसार अनुगमनपछि सम्बन्धित व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ। “मूल्यसूची अनिवार्य राख्न, सरसफाइमा ध्यान दिन र म्याद गुज्रिएका सामग्री बिक्री नगर्न कडाइका साथ निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो।
जिल्ला प्रशासन कार्यालयले बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तर अगाडि बढाइने जनाएको छ।